काठमाडौं । श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटको पहिलो खेलमा बंगलादेशले जित निकालेको छ ।
कोलम्बोमा शुक्रबार भएको पहिलो खेलमा बंगलादेशले युएईलाई ६ विकेटले पराजित गरेको छ ।
युएईले दिएको १२८ रनको सामान्य लक्ष्य बंगलादेशले २१ ओभर ३ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो ।
बंगलादेशको जितमा तान्जिद हसनले सर्वाधिक ४५ रन जोडे । यस्तै परभेज होसेनले ३० तथा हसन जोयले अविजित २७ रन बनाए ।
युएईका रिशाब मुखर्जीले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले २८ ओभरमा अलआउट हुँदै १२७ रन बनाएको थियो । युएईका ओसामा हसनले ५८ रनको अर्धशतकीय इनिङ्स खेल्दा अलिसान सराफुले ३४ रन जोडे ।
बंगलादेशका तान्जिम हसन शाकिब र राकिबुल हसनले ३/३ विकेट लिए । सोरिफुल इस्लामले २ विकेट लिए ।
जितसंगै समूह 'बी' बंगलादेशले २ अंक जोडेको छ । र, समूहको शीर्ष स्थानमा छ । युएई पुछारमा रहेको छ ।
यस समूहमा श्रीलंका दोस्रो र नेपाल तेस्रो स्थानमा छ । अब बंगलादेशले आइतबार नेपालसँग खेल्नेछ ।