एजेन्सी । फखर जमान एकदिवसीय क्रिकेटमा दोहोरो शतक हान्ने पहिलो पाकिस्तानी क्रिकेटर बनेका छन् । घरेलु टोली जिम्बावेविरुद्धको जारी चौथो एकदिवसीय क्रिकेटमा जमानले दोहोरो शतक हान्दै उक्त किर्तिमान बनाएका हुन् ।
बुलावायोमा जारी खेलमा बायाँ हाते ब्याटस्म्यान जमानले अविजित २१० रन बनाए । उनले १५६ बलमा ५ छक्का प्रहार गर्दा २४ चौका प्रहार गरेका थिए । यस्तै जमान एकदिवसीय क्रिकेटमा दोहोरो शतक हान्ने आठौ क्रिकेटर बने । यसअघि भारतीय क्रिकेटर रोहित शर्मा, सचिन तेन्दुलकर, विरेन्द्र शेभाग सहवाग, बेष्ट इन्डिजका क्रिस गेल र न्युजिल्याण्डका मार्टिन गप्टिलले दोहोरो शतक प्रहार गरेका छन् ।
जमानको दोहोरो शतकमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पुरै पचास ओभर खेल्दै मात्र १ विकेट गुमाएर ३९९ रनको उच्च योगफल तयार गरेको छ । यस्तै इमाम उल हकले ११३ रनको शतकीय पारी खेल्दा आसिफ अलीले अविजित ५० रन जोडे ।
यस्तै जमान र उल हकले एकदिवसीय क्रिकेटमा किर्तीमानी साझेदारी गरेका छन् । उनीहरुले पहिलो विकेटका लागि ३०४ रनको साझेदारी गर्दै श्रीलंकाका उपल थरंगा र सनथ जयशुर्याको नाममा रहेको २८६ रनको कीर्तिमान ताेडेका हुन् ।
घरेलु टोली जिम्बावेविरुद्धको पाँच खेलको एकदिवसीय क्रिकेट सिरिज पाकिस्तानले यसअघि नै जितिसकेको छ ।