काठमाडौं । श्रीलंकामा जारी एसीसी यू-१९ एसिया कप क्रिकेटमा नेपालले आज (शुक्रबार) आयोजक तथा टेष्ट राष्ट्र श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ ।
नेपाल र घरेलु टिम श्रीलंकाबीचको खेल आर प्रेमादशा अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । खेल नेपाली समय अनुसार बिहान १०:१५ मा सुरु हुनेछ ।
घरेलु टोलीविरुद्ध मैदान उत्रदा नेपाल सुखद सुरुवात गर्न चाहन्छ । तर, टेष्ट राष्ट्रविरुद्ध नेपाललाई सहज भने छैन । किनकि घरेलु मैदान र समर्थकको साथ पाउने श्रीलंका पनि सुखद सुरुवात गर्न चाहन्छ ।
यू-१९ एसिया कपमा नेपालले टेष्ट राष्ट्रलाई हराएको इतिहास छ । सन् २०१७ को संस्करणको एसिया कपमा नेपालले भारतलाई समूह चरणको १९ रनले हराएको थियो । कुनै पनि क्रिकेट खेलमा नेपालले भारतलाई पराजित गरेको त्यो नै पहिलो पटक हो ।
नेपालले श्रीलंकालाई भने हराउन सकेको छैन । तर, यस संस्करणको एसिया कपमा नेपाल श्रीलंकालाई शिकार बनाउन चाहन्छ । नेपाल चमत्कारी प्रदर्शनको योजनामा हुनेछ ।
राष्ट्रिय टोलीका मुख्य सदस्य रहेको रोहित कुमार पौडेलको कप्तानीमा नेपाल श्रीलंकाविरुद्ध मैदान उत्रने छ । सिनियर टोलीको अनुभवी रोहित यू-१९ टोलीबाट राष्ट्रका लागि योगदान दिन चाहन्छ । त्यसका लागि नेपाल सुखद नतिजाको खोजीमा हुनेछ ।
'सिनियर टिमबाट खेलेको अनुभव उत्कृष्ट छ र म यू-१९ एसिया कपमा देशको लागि योगदान गर्न खोजिरहेको छु,' कप्तान रोहितले भनेका छन् ।
हेड टु हेड कस्तो ?
नेपाल र श्रीलंकाबीचको पछिल्लो हेड टु हेड नतिजामा घरेलु टिम बलियो देखिएको छ ।
यू-१९ एसिया कपको पछिल्लो ५ खेलमा नेपालले श्रीलंकालाई हराउँन सकेको छैन । यद्दपी नेपाल श्रीलंकासँगको अन्तिम भेटमा मात्र १ रनले पराजित भएको थियो ।
सन् २०१६ को एसिया कपमा श्रीलंकाले दिएको २ सय २७ रनको लक्ष्य पछ्याएको नेपाल ४९ ओभर ३ बलमा २ सय २६ रन बनाउँदा अल आउट भएको थियो । सो खेलमा कप्तान दिपेन्द्र सिंह ऐरीले ९० रनको सर्वाधिक अर्धशतकीय इनिङस खेलेका थिए । यस्तै अविनास कर्णले ४० तथा आदील खान ३९ र प्रकास केसीले १४ रन बनाएका थिए ।
यस्तै सन् २०१६ को यू-१९ विश्वकपमा नेपालले श्रीलंकासँग ६५ रनले पराजित भएको थियो । श्रीलंकाले दिएको २ सय ३० रनको लक्ष्य पछ्याएको नेपाल ४२ ओभर १ बलमा १ सय ६५ रनमा समेटिन पुग्यो ।
सन् २०१२ को यू-१९ विश्वकपमा नेपालले ८ विकेटको हार व्यहोरेको थियो । पहिले ब्याटिङ गरेको नेपालले २७ ओभर ३ बलमा ७९ रनमा अलआउट भयो । नेपालका लागि सुबास खकुरेलले सर्वाधिक २२ र राजेस पुलामी मगरले १६ रन बनाएका थिए । नेपालले दिएको लक्ष्य श्रीलंकाले २० ओभर ४ बलमा मात्र २ विकेट गुमाएर पुरा गरेको थियो ।
सन् २००८ को यू-१९ विश्वकपमा पनि नेपाल ६१ रनले पराजित भएको थियो । २ सय ३६ रनको लक्ष्य पछ्याएको नेपाल ४८ ओभर ५ बलमा १ सय ७५ रनमा समेटियो ।
यस्तै सन् २००० को यू-१९ विश्वकपमा नेपाल ९ विकेटले पराजित भएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ८९ रन जोड्दा अलआउट भएको थियो । नेपालले दिएको ल्क्ष्य श्रीलंकाले १८ ओभर ३ बलमा मात्र १ विकेट गुमाएर पुरा गरेको थियो ।