काठमाडौं । भारतले श्रीलंकामा जारी एसीसी यू-१९ एसिया कप क्रिकेटमा विजयी सुरुवात गरेको छ ।
बिहिबार भएको खेलमा कुवेतलाई डिएल पद्दतिको आधारमा ७ विकेटले पराजित गर्दै भारतले सुखद सुरुवात गरेको हो ।
कोलम्बोमा कुवेतले दिएको १ सय ११ रनको लक्ष्य भारतले १९ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।
भारतको जितमा अर्जुन आजदले अविजित रहदै ६० रनको अर्धशतकीय इनिङ्स खेले ।
यसअघि वर्षाको कारण २३ ओभरमा झारिएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले पुरै ओभरमा ७ विकेट गुमाएर १ सय १० रन बनाएको थियो । कुवेतका लागि मिट भाबसरले सर्वाधिक २८ तथा गोकुल कुमारले २५ रन बनाएका थिए ।
भारतका आकाश सिंह र पूर्णक त्यागीले ३/३ विकेट लिए ।
जितसँगै समूह 'ए' मा रहेका भारतले २ अंक जोडेको छ । कुवेतले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
नेपाल सम्मलित समूह 'बी' को खेल भने शुक्रबारबाट सुरु हुनेछ । प्रतियोगिताको पहिलो खेलमा नेपालले आयोजक श्रीलंकासँग खेल्नेछ । नेपालले श्रीलंकासँग शुक्रबार खेल्नेछ ।