काठमाडौं । अफगानिस्तानले श्रीलंकामा जारी एसीसी यू-१९ एसिया कप क्रिकेटमा विजयी सुरुवात गरेको छ ।
बिहिबार भएको पहिलो खेलमा पाकिस्तानलाई डिएल पद्दतिको आधारमा ८५ रनले पराजित गर्दै अफगानिस्तानले शानदार सुरुवात गरेको हो ।
कोलम्बोमा अफगानिस्तानले दिएको १६३ रनको मध्यम लक्ष्यसहित ब्याटिङ गरेको पाकिस्तान १९ ओभर ४ बलमा ७८ रन बनाएर अलआउट भयो ।
पाकिस्तानका लागि इरफान खानले १९ तथा कप्तान रोहिल नाजिरले १६ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
पाकिस्तानलाई सस्तैमा समेट्न अफगानिस्तानका साफीकउल्लाह घाफरीले ३ विकेट लिए । यस्तै फाजल हक,अब्दुलाह तानिवाल र नुर अहमेदले २/२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले पुरै ४६ ओभरमा ९ विकेट गुमाएर १६२ रन बनाएको थियो ।
वर्षाको कारण ४६ ओभरमा झारिएको खेलमा अफगानिस्तानका लागि सेडिकउल्लाह अटलले २९ रन जोडे । यस्तै रहमान उल्लाहले २७ तथा कप्तान फरहान जाखिलले १९ रन बनाए ।
पाकिस्तानका अमीर अली र फाहद मुनिरले ३/३ विकेट लिए । यस्तै अब्बास अफ्रिदीले २ विकेट लिए ।
जितसँगै समूह 'ए' मा रहेका अफगानिस्तानले २ अंक जोडेको छ । पाकिस्तानले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
नेपाल सम्मलित समूह 'बी' को खेल भने शुक्रबारबाट सुरु हुनेछ । प्रतियोगिताको पहिलो खेलमा नेपालले आयोजक श्रीलंकासँग खेल्नेछ । नेपालले श्रीलंकासँग शुक्रबार खेल्नेछ ।