एजेन्सी । ला लिगा अध्यक्ष जाभियर टिबेसले स्पेनिस करको बिषयले पोर्चुगाली स्टार रोनाल्डोले क्लब छाड्ने निर्णय गरेको बताएका छन् ।
स्पेनमा खेलाडीमाथि लाग्ने उच्च करको कारणले रोनाल्डोले इटालियन क्लब युभेन्ट्स जाने निर्णय गरेको टिबेसको दाबी छ ।
९ बर्ष स्पेनिस क्लब रियल मड्रिडमा बिताएका रोनाल्डो सय मिलियन पाउण्डमा युभेन्ट्स गएका थिए । उनले इटालियन क्लबसंग ४ बर्षको सम्झौता गरेका छन् ।
टिबेसले पैसाले समेत खेलाडीलाई आंशिक रुपमा क्लब छाड्न प्रेरित गर्ने बताउदै इटालिमा खेलाडीले स्पेनको भन्दा धेरै कमाउने दाबी समेत गरे ।
‘उनले यहाँ भन्दा इटालिमा धेरै पैसा कमाउनेछन् ।’ स्पेनिस टिभीलाई दिएको एक अन्तरवार्तामा टिबेसले भनेका छन् ।
‘मलाई लाग्छ वित्तिय कारण समेत उनलाई इटाली जाने सहज भएको हुनसक्छ । स्पेनमा हामीसंग यहाँ धेरै समस्या छ ।’ उनले भने ।
सबै भन्दा ठुलो मानिने स्पेनिस लिगमा खेलाडीको करको स्थिती निकै खराब रहेको उनको भनाई छ ।
युभेन्टसले रोनाल्डोलाई यसै साता १०५ मिलियन पाउण्डमा स्पेनिस क्लब रियल मड्रिडबाट क्लबमा भित्राएको थियो ।
सन् २००९ मा इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडबाट कीर्तिमानी मूल्यमा क्लब आएका रोनाल्डोले रियलसंगको अनुबन्ध सम्झौता ३ बर्ष बाँकी छदै युभेन्ट्स गएका हुन् ।