एजेन्सी । इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडले बराबरीबाट प्रि-सिजनको सुरुवात गरेको छ । अमेरिका भ्रमणमा रहेको युनाइटेडले शुक्रबार मेक्सिकन क्लब अमेरिकासंग १-१ गोलको बराबरी खेल्दै प्रि-सिजनको सुरुवात गरेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दुवै गोल दोस्रो हाफमा भएको थियो । खेलको सुरुवाती अग्रता भने क्लब अमेरिकाले बनाएको थियो । खेलको ६० औं मिनेटमा हेन्री मार्टीनले गोल गर्दै क्लब अमेरिकालाई सुरुवाती अग्रता दिलाए । तर, खेलको ७८ औं मिनेटमा हुवान माटाले गोल गर्दै युनाइटेडलाई खेलमा फर्काए । त्यसपछि दुवै टोलीले थप गोल गर्न सकेनन् र खेल १-१ गोलको बराबरीमा सकिएको थियो ।
इन्ग्लिश प्रिमियर लिग सुरु अघिको प्रि-सिजन तयारीमा रहेको युनाइटेडले क्लब अमेरिकासंग मैत्रीपूर्ण खेल खेलेको हो । अब युनाइटेडले अन्तर्राष्ट्रिय च्याम्पियन्स कप खेल्नेछ । जसमा मेजर लिग सकर क्लब सान जोसे अर्थक्वेक, इटालियन क्लब एसी मिलान, इन्ग्लिश क्लब लिभरपुल र स्पेनिस क्लब रियल मड्रिड रहेका छन् ।