काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक पुबुदु दसानायके प्रशिक्षकको भूमिकामा पुनः नेपाल आउने भएका छन् ।
अमेरिकाको मुख्य प्रशिक्षकबाट हालै राजिनामा दिएका पुबुदु एभरेष्ट प्रिमियर लिग (ईपीएल) टिम भैरहवा ग्लाडीयटर्सको मुख्य प्रशिक्षक भएर नेपाल आउने भएका छन् ।
भैरहवा ग्लाडीयटर्सले मंगलबार फागुनमा आयोजना हुने ईपीएलका लागि पुबुदुलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको छ ।
चौथो संस्करणको ईपीएल क्रिकेट फागुन १७ देखि चैत १ गते सम्म संचालन हुनेछ । भैरहवा शरद भेषवाकरको कप्तानीमा मैदान उत्रने छ ।
श्रीलंकन मुलका क्यानेडीयन प्रशिक्षक पुबुदु नेपालले सन् २०१४ मा टी-ट्वान्टी विश्वकप खेल्दा टिमको मुख्य प्रशिक्षक रहेका थिए ।
रोय डायसले टिम छाडेपछि पुबुदु सन् २०११ मा नेपालको मुख्य प्रशिक्षक बनेका थिए ।
यस्तै नेपालले विश्व क्रिकेट लिग डिभिजन-४ र डिभिजन-३ को उपाधि जित्दै डिभिजन २ को यात्रा गर्दा पुबुदु मुख्य प्रशिक्षक रहेका थिए ।
भैरहवासँग सम्झौता गरेपछि पुबुदुले आफु नेपाल फर्कन निकै उत्साहित रहेको बताएका छन् ।
'भैरहवा ग्लाडीयटर्समा आबद्द हुँदा निकै उत्साहित छु । नेपाल मेरो हृदयमा सधै रहेको छ । नेपाल फर्कने अवसर दिएकोमा धन्यवाद र नेपाली क्रिकेटका लागि योगदान दिनेछु,' पुबुदुले भनेका छन् ।
यस्तै भैरहवाका मालिक आदित्य सांघाईले पुबुदुलाई नेपाल फर्काउन सफल हुँदा गर्व लागेको र उनले नेपालका नयाँ प्रतिभावान खेलाडीको पहिचान गर्नेमा विश्वस्त रहेको बताए ।
नेपाल छाडेपछि भने पुबुदु अमेरिकाको मुख्य प्रशिक्षक भएका थिए । पुबुदुले अमेरिकालाई डिभिजन-४ बाट आईसीसीको एकदिवसीय अन्तराष्ट्रिय मान्यता दिलाउन सफल भएका थिए । नामिबियामा भएको डिभिजन-२ बाट अमेरिकाले एकदिवसीय मान्यता पाएको थियो ।