एजेन्सी । अष्ट्रेलियाका पूर्व कप्तान स्टिभ स्मिथ टेष्ट क्रिकेटको ब्याट्सम्यानतर्फ शीर्ष स्थानमा उक्लिएका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले मंगलबार सार्वजनिक गरेको नयाँ वरियतामा स्मिथ शीर्ष स्थानमा फर्किएका हुन् ।
भारतीय क्रिकेट कप्तान विराट कोहलीलाई पछि पार्दै स्मिथ शीर्ष स्थानमा फर्किएका हुन् ।
आईसीसीले निकालेको नयाँ वरीयतामा स्मिथले ९०४ रेटिङ अंक पाएका छन् । दोस्रो स्थानको कोहलीको ९०३ अंक रहेको छ ।
इंग्ल्याण्डविरुद्धको एसेज सिरिजमा उत्कृष्ट प्रदर्शन गरेपछि स्मिथले वरियतामा फड्को मारेका हुन् ।
न्युजिल्याण्डका केन विलियम्सन तेस्रो स्थानमा रहेका छन् । उनले ८७७ रेटिङ अंक पाएका छन् । नयाँ वरीयतामा भारतका चेतेश्वर पुजारा चौंथो र हेनरी निकोलस पाँचौ स्थानमा रहेका छन् ।
टेष्ट क्रिकेटको बलिङतर्फ अष्ट्रेलियाका पाट कुमिन्स पहिलो, दक्षिण अफ्रिकाका कागिसो राबडा दोस्रो र भारतका जस्प्रित बुम्राह तेस्रो स्थानमा रहेका छन् । वेष्ट इण्डिजका जासन होल्डर चौंथो र इंग्ल्याण्डका जेम्स एण्डरसन पाँचौं स्थानमा रहेका छन् ।
त्यस्तै अलराउण्डरतर्फ वेष्ट इण्डिजका जासन होल्डर शीर्ष स्थानमा रहदा इंग्ल्यान्डका बेन स्टोक्स दोस्रो र बंगलादेशका शाकिब अल हसन तेस्रो स्थानमा रहेका छन् ।
टेष्ट राष्ट्रको वरियतामा भारत शीर्ष, न्युजिल्याण्ड दोस्रो र दक्षिण अफ्रीका तेस्रो स्थानमा रहेका छन् । इंग्ल्याण्ड चौंथो र अष्ट्रेलिया पाँचौं स्थानमा रहेका छन् ।