एजेन्सी । ब्राजिलियन गोलकिपर एलिसन बेकर विश्वकै महंगा गोलकिपर बनेका छन् । इन्ग्लिश क्लब लिभरपुलमा कीर्तिमानी मूल्यमा अनुबन्ध भएपछि एलिसन विश्वकै महंगा गोलकिपर बनेका हुन् ।
२५ बर्षिय एलिसन ६६.८ मिलियन पाउण्डमा इटालियन क्लब रोमाबाट लिभरपुलमा अनुबन्धित भएका हुन् । एलिसनले बिहिबार राति लिभरपुलसंग ६ बर्षे लामो सम्झौता गरेका छन् ।
एलिसनको लागि लिभरपुलले तिरेको यो रकम गोलकिपरका लागि अहिलेसम्मकै ठुलो रकम हो । यसअघि सन् २००१ मा इटालियन क्लब युभेन्ट्सले जियानलुईजी बुफोनका लागि पामालाई ५३ मिलियन युरो तिरेको थियो ।
कीर्तिमानी मुल्यमा लिभरपुल आएपछि एलिसनले आफ्नो सपना साकार भएको बताए । उनले भने, 'लिभरपुल क्लब र परिवारसंग जोडिनु मेरो करियर र जीवनको सबैभन्दा ठुलो खुड्किलो हो । म एकदमै खुसी छ । सपना सत्य भएको छ ।'
अब एलिसनले लिभरपुल लोरिस कारिसको स्थान लिनेछन् । एलिसनले भर्खरै रुसी विश्वकपमा ब्राजिली पोस्टको जिम्मेवारी सम्हालेका थिए ।
२५ बर्षिया एलिसन दुई बर्ष अघि मात्र रोमासंग जोडिएका थिए । उनले गत सिजन ३७ सिरि ए खेल खेलेका थिए ।