एजेन्सी । पाहुना टोली भारतले विश्व टेष्ट च्याम्पियनसिप अन्तर्गत वेष्ट इण्डिजविरुद्धको टेष्ट सिरिजले जितेको छ ।
किङ्सटनमा सोमबार राति दोस्रो तथा अन्तिम टेष्टमा वेष्ट इण्डिजलाई २५७ रनले पराजित गर्दै भारतले दुई खेलको सिरिज २-० ले जितेको हो ।
सबिना पार्कमा भारतले दिएको ४६८ रनको लक्ष्यसहित दोस्रो इनिङ्स थालेको वेष्ट इण्डिज ५९ ओभर ५ बलमा अलआउट हुँदै २१० रनमा समेटियो ।
वेष्ट इण्डिजका लागि सम्राह ब्रुक्सले ५० रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै कप्तान जासन होल्डरले ३९ तथा जेर्मानी ब्लाकवुडले ३८ रन बनाए ।
वेष्ट इण्डिजलाई सस्तैमा समेट्न मोहमद शामी र रविन्द्र जडेजाले समान ३/३ विकेट लिए । इशान शर्माले २ विकेट लिए ।
वेष्ट इण्डिजले पहिलो इनिङ्समा अलआउट हुँदै ११७ रन बनाएको थियो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले पहिलो इनिङ्समा ४१६ रनको फराकिलो योगफल तयार गरेको थियो ।
दोस्रो इनिङ्समा ४ विकेटको क्षतिमा १८६ रन जोड्दै भारतले इनिङ्स समाप्तिको घोषणा गरेको थियो । भारतका अजिन्का रहाणेले अविजित ६४ तथा हनुमा बिहारीले अविजित ५४ रन बनाएका थिए । वेष्ट इण्डिजका केमार रोचले ३ विकेट लिए ।
भारतले पहिलो टेष्टमा पनि वेष्ट इण्डिजलाई ३१८ रनको फराकिलो अन्तरले हराएको थियो । विदेशी भूमिमा भारतको त्यो अहिलेसम्मकै सर्वाधिक ठुलो रनको कीर्तिमानी जित हो ।
वेष्ट इण्डिजविरुद्धको दुई टेष्ट जितेसँगै कप्तान विराट कोहली भारतबाट सर्वाधिक टेष्ट जित्ने कप्तान बनेका छन् । कोहलीले कप्तानको रुपमा २८ टेष्ट जितेका छन् ।
कोहलीले महेन्द्र सिंह धोनीको नाममा रहेको कीर्तिमान तोडेको हो । धोनीले कप्तानको रुपमा २७ टेष्ट जितेका छन् । यस्तै सौरभ गांगुलीले २१ टेष्ट जितेका छन् ।