एजेन्सी । भारतीय क्रिकेट टोलीका सदस्य रिद्धिमान साह दुई महिना मैदान बाहिर रहने भएका छन् । हातको चोटका कारण साहले दुई महिना क्रिकेट नखेल्ने भएका हुन् ।
भारतीय टेष्ट क्रिकेट टिमका पहिलो रोजाईका विकेटकिपर साहले यो सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दौरान चोट बोकेका थिए । भारतीय क्रिकेट बोर्ड (बिसिसीआई) ले साहको चोट ठिक हुन पाँच देखि ६ हप्ता लाग्ने बताएको छ ।
बिसिसीआईले भनेको छ, 'साहले आईपीएलको दौरान हातको चोट बोकेको छ, मेडिकल टिम र हामीले उनको चोटको अवलोकन गर्यौ र हामीले उनलाई आराम दिने निर्णय गरेका छौं । साह पूर्ण रुपमा फि हुन ५ देखि ६ हप्ता लाग्नेछ ।'
आईपीएलमा सनराइजर्स हैदरावादबाट खेलेका विकेट किपर ब्याट्सम्यान साहले क्वालिफायर- २ अन्तर्गत कोलकाता नाइटराइडर्सविरुद्धको खेलमा चोट बोकेका थिए । उनको दायाँ हातको कुममा चोट लागेको थियो ।
दुई महिना मैदानबाहिर रहने भएसंगै ३३ बर्षीय साहले इंग्ल्यान्डविरुद्धको टेष्ट सिरिज गुमाउने भएका छन् । इंग्ल्यान्ड भ्रमणमा रहेको भारतले अगस्टमा पाँच टेष्टको सिरिज खेल्दैछ ।