एजेन्सी । श्रीलंका भ्रमणमा रहेको न्युजिल्याण्डले घरेलु टोलीविरुद्धको पहिलो टी-ट्वान्टी क्रिकेटमा जित निकालेको छ ।
आइतबार राति भएको खेलमा न्युजिल्याण्डले श्रीलंकालाई ५ विकेटले पराजित गर्यो ।
श्रीलंकाले दिएको १७५ रनको लक्ष्य न्युजिल्याण्डले १९ ओभर ३ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो । न्युजिल्याण्डका लागि रोस टेलरले ४८ रन बनाए ।
यस्तै कोलिन डी ग्राण्डहोम्मेले ४४ तथा जोसेप मिचेलले अविजित २५ रन बनाए । श्रीलंकाका लासिथ मालिंगा र हसरंगा डी सिल्भाले २/२ विकेट लिए ।
न्युजिल्याण्डसँगको खेलमा २ विकेट लिएसँगै मालिंगा टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा सर्वाधिक विकेट लिने पहिलो खेलाडी बनेका छन् ।
मालिंगाले टी-ट्वान्टी अन्तराष्ट्रियमा ९९ विकेट लिँदै कीर्तिमान बनाएका हुन् । मालिंगापछि सर्वाधिक विकेट लिने खेलाडी पाकिस्तानका साहिद अफ्रिदी हुन् । अफ्रिदीले ९८ विकेट लिएका छन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ४ विकेट गुमाएर १७४ रन बनाएको थियो । श्रीलंकाका लागि कुशल मेन्डीसले ७९ रनको अर्धशतकीय इनिङ्स खेले ।
त्यस्तै निरोशन डिक्वेलाले ३३ रन बनाए । न्युजिल्याण्डका टिम साउथेले २ विकेट लिए ।
जितसँगै तीन खेलको सिरिजमा न्युजिल्याण्डले १-० को अग्रता बनाएको छ ।