एजेन्सी । इटालियन क्लब रोमाका डिरेक्टर मोन्चीले कीर्तिमानी रकमको अफर आएकोले गोलकिपर एलिसन बेकरलाई इन्ग्लिश क्लब लिभरपुलमा बेचेको बताएका छन् ।
रोमा बुधबार मात्र ब्राजिलियन गोलकिपर एलिसनलाई कीर्तिमानी मूल्य ६७ मिलियन पाउण्डमा लिभरपुल पठाउन राजी भएको थियो । एलिसनको लागि लिभरपुलले तिरेको यो रकम गोलकिपरका लागि अहिलेसम्मकै ठुलो रकम हो । यसअघि सन् २००१ मा इटालियन क्लब युभेन्ट्सले जियानलुईजी बुफोनका लागि पामालाई ५३ मिलियन युरो तिरेको थियो ।
गोलकिपर एलिसनलाई लिभरपुलमा बेच्ने निर्णय गरेपछि बिहिबार डिरेक्टर मोन्चीले भनेका छन्, 'एलिसन र लिभरपुलबीचको सम्झौता चाडै हुँदैछ । उनीहरुले गोलकिपरको लागि कीर्तिमानी मूल्यको प्रस्ताव गरे । र, हामीले बेच्ने निर्णय गर्यौं ।'
यस्तै मोन्चीले एलिसन अहिले मेडिकलको लागि लिभरपुलमा रहेको बताए । एलिसनको लागि अन्य क्लबबाट पनि अफर आएको उनले बताए ।
अब एलिसनले लिभरपुल लोरिस कारिसको स्थान लिनेछन् । एलिसनले भर्खरै रुसी विश्वकपमा ब्राजिली पोस्टको जिम्मेवारी सम्हालेका थिए ।
२५ बर्षिया एलिसन दुई बर्ष अघि मात्र रोमासंग जोडिएका थिए । उनले गत सिजन ३७ सिरि ए खेलमा सहभागिता जनाएका छन् ।