काठमाडौं । नेपाली यू-२३ टोलीका सदस्य डोना थापा भारतीय क्लबबाट व्यवसायिक फुटबल खेल्न गुवाहाटी प्रस्थान गरेका छन् । गुवाहाटीस्थित इटागरको क्लब गोर्खा क्लबबाट फुटबल खेल्न बिहिबार डोना त्यसतर्फ गएका हुन् ।
नेपालको ए डिभिजन क्लब मनाङ मर्स्याङ्दीबाट खेल्दै आएका डोना एक महिनाको लागि गुवाहाटी गएका हुन् । गोर्खाबाट डोनाले म्याच खेलेवापत पारिश्रमिक पाउने छन् । डोनाले क्लबमा एक खेलको ११ हजार भारतीय रुपैया दिनेगरि अनुबन्ध भएको खेलपाटीलाई जानकारी गराए । 'नेपालमा अहिले लिग र प्रतियोगिता छैन,' डोनाले भने, 'यहाँको टिमले राम्रो अफर गर्यो । त्यसैले खेल्न आएको हु ।'
उनले अहिले एक महिनाको लागि सम्झौता गरेको तर राम्रो भए अझ बढी बस्ने बताए । यस्तै गीत संगीतमा समेत रुची राख्ने डोनाले एक महिनापछि पहिलो एल्बम निकाल्न नेपाल आउने बताए ।
उमेर समूहबाट नेपाली टोलीमा रहदै आएका डोनाले गत बर्ष युएईमा भएको एएफसी यु–२३ च्याम्पियनसिपको छनोट खेल्दा नेपाली टोलीबाट खेलेका थिए । यस्तै उनले नेपालबाट यू-१४, यू -१६ र यू-१९ बाट नेपालको प्रतिनिधि गरिसकेका छन् । क्लब फुटबलमा डोनाले अधिकांस समय मनाङ्ग मर्स्याङ्दीबाट खेलेका छन् । मनाङबाट उनले बंगलादेशमा भएको शेख कमल अन्तर्राष्ट्रिय कप, भारतमा भएको गभर्नस कप खेलिसकेका छन् ।