काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले थाईल्याण्डमा दुई मैत्रीपूर्ण खेल खेल्ने भएका छन् । इन्डोनेसियामा हुने एसियन गेम्सको तयारीको लागि नेपालले थाईल्याण्डमा दुई मैत्रीपूर्ण खेल खेल्ने भएको हो ।
अखिल नेपाल फुटबल संघ एन्फाले मैत्रीपूर्ण खेलको लागि गरेको प्रस्ताव थाईल्याण्ड फुटबल एसोसियसनले स्विकार गरेको छ । एन्फाका प्रवक्ता किरण राईका अनुसार अगष्ट १ देखी ४ भित्र नेपालले थाईल्याण्डमा दुई मैत्रीपूर्ण खेल खेल्ने छ । प्रवक्ता राईले नेपाली टोलीले थाईल्याण्डको राष्ट्रिय टोली र एक युनिभर्सिटी तहको टिमसंग मैत्रीपूर्ण खेल खेल्ने खेलपाटीलाई जानकारी गराए ।
इन्डोनेसियाको जाकार्ता र पालेमबङमा आगामी अगष्ट १८ देखि सेप्टेम्बर २ सम्म हुने एसियन गेम्समा नेपालको राष्ट्रिय पुरुष फुटबल टिमले सहभागिता जनाउदैछ । नेपाली टिमले अहिले ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अभ्यास गरिरहेको छ ।
प्रतियोगिताकालागि २० सदस्यीय नेपाली टोलीको घोषणा भईसकेको छ । एसियन गेम्सको फुटबल स्पर्धामा २३ बर्षका मुनिका खेलाडी समावेश हुन्छन् । जसमा २३ बर्षमाथिका ३ खेलाडी राख्न पाउने व्यवस्था छ । सिनियर खेलाडीको रुपमा किरण चेम्जोङ, भरत खवास र रोहित चन्दलाई टिममा राखिएको छ ।
एसियन गेम्सको सार्वजनीक भएको ड्र अनुसार नेपाल समुह डीमा परेको थियो । जसमा एसियाली पावर हाउस जापान सहित भियतनाम र पाकिस्तान रहेका थिए । तर,प्रतियोगितामा सिरिया र प्यालेष्टाईन समावेश हुने भएपछि फुटबलको पुरुष स्पर्धाको ड्र फेरी सार्वजनीक हुने भएको छ ।
नेपाली टिमका सहायक प्रशिक्षक बालगोपाल महर्जनले नेपालले प्रतियोगिताको दोस्रो चरण प्रवेश गर्ने लक्ष्य लिएको खेलपाटीलाई बताएका छन् ।