एजेन्सी । पाहुना टोली अष्ट्रेलियाविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा इंग्ल्यान्ड विजयी भएको छ । बुधबार राति भएको खेलमा इंग्ल्यान्डले अष्ट्रेलियालाई ३ विकेटले पराजित गरेको हो ।
लण्डनमा अष्ट्रेलियाले दिएको २१५ रनको लक्ष्य घरेलु टोली इंग्ल्यान्डले ४४ ओभरमा ७ विकेटको क्षतिमा पुरा गर्यो । इंग्ल्यान्डको जितमा कप्तान इयोन मोर्गनले ६९ तथा जोय रुटले ५० रनको अर्धशतकीय पारी खेले । त्यस्तै जोनी मार्कले २८ रन जोड्दा डेविड विली ३५ रनमा अविजित रहे । अष्ट्रेलियाका बिली स्टनलेक, माइकल नेसेर र एन्ड्रयु टेले समान दुई दुई विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४७ ओभरमा अलआउट हुँदै २१४ रन बनाएको थियो । अष्ट्रेलियाको लागि ग्लेन म्याकस्वेलले ६२ रनको अर्धशतकीय पारी खेल्दा आश्टन अगरले ४० रन जोडे । अष्ट्रेलियालाई कम स्कोरमा रोक्न इंग्ल्यान्डका मोइन अली र लिएम प्लुन्केटले समान तीन तीन विकेट लिए । त्यस्तै अदिल रशिदले दुई विकेट लिए ।
यो जितसँगै इंग्ल्यान्डले भ्रमणकारी टोली अष्ट्रेलियाविरुद्धको ५ खेलको सिरिजमा १ – ० ले अग्रता बनाएको छ । दुई टोलीबीचको दोस्रो खेल शनिबार कार्डिफमा हुनेछ । एकदिवसीय सिरिजपछि दुई टोलीले एक खेलको टी – ट्वान्टी सिरिज खेल्ने छन् ।