एजेन्सी । इन्ग्लिश क्लब लिभरपुलका मिडफिल्डर एलेक्स ओक्सलेड च्याम्बरलिनले यो सिजनको अधिकांस खेल गुमाउने भएका छन् । च्याम्पियन्स लिगको दौरान लागेको चोटका कारण च्याम्बरलिनले यो सिजनका धेरै खेल गुमाउने भएका हुन् ।
च्याम्पियन लिग अन्तर्गत गत अप्रिलमा रोमाविरुद्धको सेमिफाइनल खेलमा च्याम्बरलिनले चोट बोकेका थिए । एलेक्सान्डर कोलारोभविरुद्ध ट्याकल हानेर बल खोस्ने प्रयास गर्दा च्याम्बरलिनले घुडाको चोट बोकेका थिए । त्यसयता च्याम्बरलिन मैदान उत्रिएका छैनन् ।
लिभरपुलका प्रशिक्षक जोर्गेन क्लोपले च्याम्बरलिनले यो सिजन पूर्ण रुपमा खेल्न नसक्ने स्पष्ट पारेका छन् । प्रशिक्षक क्लोपले च्याम्बरलिनको चोट पूर्ण रुपमा ठिक हुन अझै समय लाग्ने बताए । उनले भनेका छन्, 'ओक्स (च्याम्बरलिन) को बारेमा बताउनु यो उपयुक्त समय हो जस्तो लाग्छ । यो सिजन उनले चोट मुक्त हुन र पुनर्स्थापनमा ध्यान दिने छन् ।'
चोटकै कारण इंगलिस मिडफिल्डर च्याम्बरलिनले रुस विश्वकप गुमाएका थिए । २४ बर्षीय च्याम्बरलिन गत सिजन आर्सनलबाट एनफिल्ड आएका थिए । गत सिजन उनले लिभरपुलबाट ४१ खेल खेल्दै ५ गोल गरेका थिए ।