काठमाडौं । एसीसी यू-१९ एसिया कप क्रिकेट खेल्न श्रीलंका पुगेको नेपाली यू-१९ क्रिकेट टोली तेस्रो तथा अन्तिम अभ्यास खेलमा पराजित भएको छ ।
कोलम्बोमा शुक्रबार भएको खेलमा नेपाल श्रीलंकाको फस्ट क्लास क्रिकेट क्लब चिल मरियन्ससँग ८९ रनले पराजित भएको हो ।
मरियन्सले दिएको २ सय २५ रनको लक्ष्य पछ्याएको नेपाल ४० ओभर ३ बलमा १ सय ३५ रन बनाउँदा अलआउट भयो । नेपालका लागि आशिफ शेखले सर्वाधिक ४४ रन जोडेपनि नेपाललाई जित दिलाउन सकेनन् ।
यस्तै नेपालका लागि भिम सार्कीले २६, रित गौतमले २५ र पवन सर्राफले १२ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
मरियन्सका नभिन गुणवर्दना र सेसन सिल्भाले ३/३ विकेट लिए । त्यस्तै दिल्सान सन्जिवाले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मरियन्सले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय २४ रन बनाएको थियो ।
मरियन्सका सुहागा विजीबर्देनाले ५६ रनको अर्धशतकीय इनिङ्स खेल्दा डसुन सेनेभीरत्नेले ३६ रन जोड्दा सनोज दर्शिकाले ३२ रन बनाए । यस्तै लासिथ क्रोसपुलेले २६ र काभिन्दु दिनेशले २५ रन बनाए ।
नेपालका सुर्य तमाङ र पवन सर्राफले समान २/२ विकेट हात पारे । यस्तै सागर ढकाल, राशिद खान र कमल सिंहले समान १/१ विकेट लिए ।
एसीसी यू-१९ एसिया कप क्रिकेट अघि नेपालले तयारी स्वरुप तीन अभ्यास खेल खेलेको हो । अघिल्ला दुई अभ्यास खेलमा नेपालले एक जित एक हार व्यहोरेको थियो ।
नेपालले बिहिबार भएको दोस्रो अभ्यास खेलमा श्रीलंकाको फस्ट क्लास क्रिकेट क्लब बादुरेलियालाई ८० रनले पराजित गरेको थियो । पहिलो अभ्यास खेलमा भने नेपाल सिङहलेस क्रिकेट क्लब (एसएससी) को यू-२३ टिमसँग ३ विकेटले पराजित भएको थियो ।
प्रतियोगिताको पहिलो खेलमा नेपालले आयोजक श्रीलंकासँग खेल्नेछ । समूह 'बी' मा रहेको नेपालले श्रीलंकासँग भदौ २० गते खेल्नेछ ।
यस्तै दोस्रो खेलमा नेपालले भदौ २२ गते बंगलादेश र अन्तिम खेलमा भदौ २४ गते युएईसँग खेल्नेछ ।
अर्को समूहमा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन् । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
यो पनि :
अन्तिम यू-१९ क्रिकेट खेल्ने पाँच खेलाडी
यूवा क्रिकेटरलाई महत्वपूर्ण एसिया कप