काठमाडौं । एसीसी यू-१९ एसिया कप क्रिकेटका लागि श्रीलंकामा रहेको नेपाली यू-१९ क्रिकेट टिमलाई अभ्यास खेलमा फस्ट क्लास क्रिकेट क्लब चिल मरियन्सले २ सय २५ लक्ष्य दिएको छ ।
कोलम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको मरियन्सले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय २४ रन बनायो ।
नेपालका सुर्य तमाङ र पवन सर्राफले समान २/२ विकेट हात पारे । यस्तै सागर ढकाल, राशिद खान र कमल सिंहले समान १/१ विकेट लिए ।
एसीसी यू-१९ एसिया कप क्रिकेट अघि नेपालले तयारी स्वरुप अभ्यास खेल खेलिरहेको छ ।
यसअघि अघिल्ला दुई अभ्यास खेलमा नेपालले एक जित एक हार व्यहोरेको थियो । नेपाली युवा टोलीले बिहिबार भएको दोस्रो अभ्यास खेलमा श्रीलंकाको फस्ट क्लास क्रिकेट क्लब बादुरेलियालाई ८० रनले पराजित गरेको थियो ।
पहिलो अभ्यास खेलमा भने नेपाल सिङहलेस क्रिकेट क्लब (एसएससी) को यू-२३ टिमसँग ३ विकेटले पराजित भएको थियो ।
प्रतियोगिताको पहिलो खेलमा नेपालले आयोजक श्रीलंकासँग खेल्नेछ ।
समूह 'बी' मा रहेको नेपालले श्रीलंकासँग भदौ २० गते खेल्नेछ । यस्तै दोस्रो खेलमा नेपालले भदौ २२ गते बंगलादेश र अन्तिम खेलमा भदौ २४ गते युएईसँग खेल्नेछ ।
अर्को समूहमा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन् । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
यो पनि :
अन्तिम यू-१९ क्रिकेट खेल्ने पाँच खेलाडी
यूवा क्रिकेटरलाई महत्वपूर्ण एसिया कप