एजेन्सी । घरेलु टोली जिम्बावेविरुद्धको पाँच खेलको एकदिवसीय क्रिकेट सिरिज पाकिस्तानले जितेको छ । बुधबार तेस्रो एकदिवसीयमा जिम्बावेलाई ९ विकेटले हराउदै पाकिस्तानले दुई खेल अगाबै सिरिज जितेको हो ।
बुलावायोमा घरेलु टोलीले दिएको ६८ रनको झिनो लक्ष्य पाकिस्तानले ९ ओभर ५ बलमा मात्र एक विकेट गुमाएर पुरा गर्यो । जितसंगै भ्रमणकारी टोली पाकिस्तानले पाँच खेलको सिरिजमा ३ – ० को अग्रता बनाउदै सिरिजमा कब्जा जमाएको हो । जिम्बावे भ्रमणमा रहेको पाकिस्तानले यसअघि अष्ट्रेलिया सम्मलित त्रिकोणात्मक टी-ट्वान्टी सिरिज जितेको थियो ।
पाकिस्तानको जितमा फखर जमानले अविजित ४३ रन जोड्दा बाबर आजमले १९ रन बनाए । इमाम उल हक सुन्य रनमा आउट भए । जिम्बावेका ब्लेसिङ मुजाराबानीले एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जिम्बावेले २५ ओभर १ बलमा अलआउट हुँदै ६७ रन जोडेको थियो । पाकिस्तानी बलर चम्किदा जिम्बावेका तीन ब्याट्सम्यानले मात्र दोहोरो अंक जोड्न सफल भए ।
जिम्बावेका चामु चिभाभाले १६ रन जोड्दा कप्तान ह्यामिल्टन मुसाकाज्दा र विलिङटन मुसाकाज्दाले समान १०/१० रन जोडे । जिम्बावेको पारी ध्वस्त बनाउन पाकिस्तानका फाहिम आश्रफले २२ रन खर्चेर ५ विकेट लिए । यस्तै जुनेद खानले २ विकेट लिए ।