काठमाडौं । एसीसी यू-१९ एसिया कप क्रिकेटका लागि श्रीलंकामा रहेको नेपाली यू-१९ क्रिकेट टिमले आज (शुक्रबार) तेस्रो तथा अन्तिम अभ्यास खेल खेल्दैछ ।
नेपालले शुक्रबार श्रीलंकाको फस्ट क्लास क्रिकेट क्लब चिल मरियन्ससँग खेल्दैछ । खेल कोलम्बोमा हुने छ ।
अघिल्ला दुई अभ्यास खेलमा नेपालले एक जित एक हार व्यहोरेको छ ।
नेपाली युवा टोलीले बिहिबार भएको दोस्रो अभ्यास खेलमा श्रीलंकाको फस्ट क्लास क्रिकेट क्लब बादुरेलियालाई ८० रनले पराजित गरेको थियो ।
पहिलो अभ्यास खेलमा भने नेपाल सिङहलेस क्रिकेट क्लब (एसएससी) को यू-२३ टिमसँग ३ विकेटले पराजित भएको थियो ।
एसीसी यू-१९ एसिया कप क्रिकेट अघि नेपालले तयारी स्वरुप अभ्यास खेल खेलिरहेको छ ।
प्रतियोगिताको पहिलो खेलमा भने नेपालले आयोजक श्रीलंकासँग खेल्नेछ । समूह 'बी' मा रहेको नेपालले श्रीलंकासँग भदौ २० गते खेल्नेछ ।
यस्तै दोस्रो खेलमा नेपालले भदौ २२ गते बंगलादेश र अन्तिम खेलमा भदौ २४ गते युएईसँग खेल्नेछ ।
अर्को समूहमा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन् । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।