काठमाडौं । नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिमले दोस्रो अभ्यास खेलमा श्रीलंकाको फस्ट क्लास क्रिकेट क्लब बादुरेलियालाई पराजित गरेको छ ।
कोलम्बोमा बिहिबार भएको खेलमा नेपालले बादुरेलियालाई ८० रनले पराजित गरेको हो ।
नेपालले दिएको १ सय ६५ रनको लक्ष्य पछाएको बादुरेलियाले २३ ओभर १ बलमा अलआउट हुँदै ८४ रन मात्र बनाउन सक्यो ।
बादुरेलियाका थिभेन्दु डीक्वेलेले सर्वाधिक ३१ र आभिस्का लक्सन २१ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
बादुरेलियालाई सस्तैमा समेट्न नेपालका सागर ढकालले ५ विकेट हात पारे । यस्तै पवन सर्राफ र कमल सिंह ऐरी समान २/२ विकेट हात पारे । कुशल मल्लले १ विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४६ ओभर ४ बलमा अलआउट हुँदै २ सय ६ रन बनाएको थियो ।
तर, वर्षाले खेल प्रभावित गरेपछि दोस्रो इनिङ्सको खेल ३५ ओभरमा झारिएपछि बादुरेलियाले डीएल पद्दतिको आधारमा १ सय ६५ रनको लक्ष्य पाएको हो ।
नेपालका लागि रित गौतम र हरि चौहानले अर्धशतकीय इनिङ्स खेले । रितले ७६ तथा हरिले ५६ रन बनाए । सन्दीप जोराले २४ तथा आसिफ शेखले १४ रन बनाए । भिम सार्कीले १० रन बनाए ।
बादुरेलिया मालिदा करुनारत्ने, अभिस्का लक्सन र थिलिना चमाथले समान २/२ विकेट हात पारे ।
अब नेपालले तेस्रो तथा अन्तिम अभ्यास खेलमा शुक्रबार चिल मरियन्ससँग खेल्नेछ । पहिलो अभ्यास खेलमा नेपाल सिङहलेस क्रिकेट क्लब (एसएससी) को यू-२३ टिमसँग ३ विकेटले पराजित भएको थियो ।
एसीसी यू-१९ एसिया कप क्रिकेट अघि नेपालले तयारी स्वरुप अभ्यास खेल खेलिरहेको छ ।
प्रतियोगिताको पहिलो खेलमा भने नेपालले आयोजक श्रीलंकासँग खेल्नेछ । समूह 'बी' मा रहेको नेपालले श्रीलंकासँग भदौ २० गते खेल्नेछ ।
यस्तै दोस्रो खेलमा नेपालले भदौ २२ गते बंगलादेश र अन्तिम खेलमा भदौ २४ गते युएईसँग खेल्नेछ ।
अर्को समूहमा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन् । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।