राजविराज । बजाज खडक वारियर्सले पहिलो संकरणको मेयर कप सप्तरी प्रिमियर लिग प्रतियोगिताको उपाधि जितेको छ । राजविराजमा बिहिबार भएको फाइनलमा बोदे बर्साइन थन्डर्सलाई ४ विकेटले हराएर वारियर्सले उपाधि जितेको हो ।
विन्देश्वरी पब्लिक स्कुलको मैदानमा थन्डर्सले दिएको १२८ रनको लक्ष्य वारियर्सले १९ ओभर १ बलमा ६ विकेट गुमाएर पुरा गर्यो ।
वारियर्सको जितमा पुस्प थापाले सर्वाधिक ४२ रन जोडे । म्यान अफ द म्याच समेत चुनिएका उनले ३२ बलमा ६ चौका र १ छक्का प्रहार गरे ।
मात्र ४८ रनको योगफलमा ४ विकेट गुमाएको अवस्थामा ब्याटिङ्ग गर्न आएका थापाले पाँचौ विकेटको लागि आशिष झासंग २२ रन तथा छैठौं विकेटको लागि फिर्दोश अन्सारीसंग ५० रनको साझेदारी गर्दै जितको आधार तयार गरेका थिए । फिर्दोश अन्सारीले अविजित २५ रन बनाए । यस्तै प्रशान्त राई र बिबेक यादबले समान १६ /१६ रन जोडे । थन्डर्सका बलर नन्दन झा र श्रवण यादबले २/२ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको थन्डर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२७ रन बनाएको थियो । उसका लागि कप्तान सिद्धान्त लोहनीले सर्वाधिक ३५ रन बनाए । यस्तै रोहित सिंहले २७, श्रवण यादबले १९ तथा सन्दिप ढुंगानाले १६ रन बनाए । वारियर्सका बलर उपेन्द्र रोय, बिबेक यादब र हरिशंकर शाहले समान २/२ विकेट हात पारे।
यो उपाधिसंगै वारियर्सले ट्रफी सहित १ लाख ५१ हजार रुपैयाँ हात पारेको छ । उपविजेता थन्डर्सले ट्रफी र ८१ हजार रुपैयाँमा चित्त बुझायो।
प्रतियोगिताको उत्कृष्ट खेलाडी बिजेता टिमका कप्तान बिबेक यादब चुनिए । उनले १५ हजार हात पारे ।
यस्तै उत्कृष्ट बलर थन्डर्सका नन्दन यादब र ब्याट्सम्यान तिलाठी कोइलाडीका मेहबुब आलम घोषित भए । उदयमान खेलाडी तिलाठी कोइलाडीका राहुल मण्डल घोषित भए । उनीहरुले समान १०/१० हजार प्राप्त गरे ।
बिजेता खेलाडीहरुलाई राजविराज नगरपालिकाका मेयर सम्भु प्रसाद यादबले पुरस्कृत गरे । असार २८ गते देखि सुरु भएको प्रतियोगितामा तीन टोलीले खेलेका थिए ।