काठमाडौं । नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिमले दोस्रो अभ्यास खेलमा श्रीलंकाको फस्ट क्लास क्रिकेट क्लब बादुरेलियालाई जितका लागि १ सय ६५ रनको लक्ष्य दिएको छ ।
कोलम्बोमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४६ ओभर ४ बलमा अलआउट हुँदै २ सय ६ रन बनायो ।
तर, वर्षाले खेल प्रभावित गरेपछि दोस्रो इनिङ्सको खेल ३५ ओभरमा झारिएपछि बादुरेलियाले डीएल पद्दतिको आधारमा १ सय ६५ रनको लक्ष्य पाएको हो ।
नेपालका लागि रित गौतम र हरि चौहानले अर्धशतकीय इनिङ्स खेले । रितले ७६ तथा हरिले ५६ रन बनाए । सन्दीप जोराले २४ तथा आसिफ शेखले १४ रन बनाए ।
यसअघि पहिलो अभ्यास खेलमा नेपाल सिङहलेस क्रिकेट क्लब (एसएससी) को यू-२३ टिमसँग ३ विकेटले पराजित भएको थियो ।
एसीसी यू-१९ एसिया कप क्रिकेटका लागि श्रीलंकामा रहेको नेपालले तयारी स्वरुप अभ्यास खेल खेलि रहेको छ । नेपालले प्रतियोगिता अघि ३ अभ्यास खेल खेल्नेछ ।
प्रतियोगिताको पहिलो खेलमा भने नेपालले आयोजक श्रीलंकासँग खेल्नेछ । समूह 'बी' मा रहेको नेपालले श्रीलंकासँग भदौ २० गते खेल्नेछ ।
यस्तै दोस्रो खेलमा नेपालले भदौ २२ गते बंगलादेश र अन्तिम खेलमा भदौ २४ गते युएईसँग खेल्नेछ ।
अर्को समूहमा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन् । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।