एजेन्सी । ब्राजिलीयन गोलकिपर एलिसन बेकर कीर्तिमानी मुल्यमा इङ्लिस क्लब लिभरपुल आउने भएका छन् । लिभरपुलले अघि सारेको प्रस्ताव इटालियन क्लब रोमाले स्वीकार गरेपछि एलिसन इङ्लिस क्लब भित्रने भएका हुन् ।
इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलले एलिसनको लागि रोमालाई ६७ मिलियन पाउण्ड तिर्न राजी भएको बिबिसीले जनाएको छ । उनलाई लिभरपुलले पाँच बर्षको लागि क्लबमा भित्राउने बताईएको छ । यसअघि लिभरपुलले उनको लागि ६२ मिलियन पाउण्डको प्रस्ताव अघि सारेको थियो ।
एलिसनको लागि लिभरपुलले तिरेको यो रकम गोलकिपरकालागि अहिलेसम्मकै ठुलो रकम हो । सन् २००१ मा इटालियन क्लब युभेन्ट्सले जियानलुईजी बुफोनका लागि पामालाई ५३ मिलियन युरो तिरेको थियो ।
लिभरपुल आए एलिसनले लोरिस कारिसको स्थान लिनेछन् । एलिसनले भर्खरै रुसी विश्वकपमा ब्राजिली पोस्टको जिम्मेवारी सम्हालेका थिए । २५ बर्षिया एलिसन दुई बर्ष अघि मात्र रोमासंग जोडिएका थिए । उनले गत सिजन ३७ सिरि ए खेलमा सहभागिता जनाएका छन् ।