काठमाडौं । नेपाली क्रिकेट टोलीलाई पोशाक निर्माण कम्पनि मोनालिसा एक्स्कुल्सिभ टेक्सटायलले प्रायोजन गरेको छ । क्रिकेट प्लेयर एसोसिएसन अफ नेपाल (सिप्यान) को पहलमा मोनालिसाले नेपाली टोलीलाई सर्टिङ एण्ड सुटिङ पार्टनरको रुपमा प्रायोजन गरेको हो ।
काठमाडौंमा बुधबार आयोजित एक कार्यकमकाबीच सिप्यान र मोनालिसाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सिप्यानका अध्यक्ष मनिस राज पाण्डे र मोनालिसा ग्रुपका अध्यक्ष गिर्धारलाल बंशलले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता एक बर्षको लागि भएको सिप्यानले जनाएको छ । सम्झौतासंगै नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई मोनालिसाले औपचारिक पोशाकहरु उपलब्ध गराउने छन् ।
नेपाली टोली बिहिबार युरोप भ्रमणमा निस्कदै छ । नेपालले इंग्ल्यान्डको लर्ड्समा हुने त्रिकोणात्मक टी-ट्वान्टी सिरिज र नेदरल्याण्डसंग एकदिवसीय क्रिकेट सिरिज खेल्दै छ । उक्त भ्रमणको दौरान नेपाली क्रिकेट टोलीले मोनालिसाले उपलब्ध गराउने पोशाक लगाउनेछन् ।
सम्झौतापछि बोल्दै सिप्यानका अध्यक्ष पाण्डेले सहयोगको लागि मोनालिसालाई धन्यवाद दिंदै प्रायोजन सम्झौता सुरुवात मात्र भएको बताए । यो सम्झौता अझै लामो समयसम्म रहने उनले बताए । यस्तै मोनालिसाका म्यानेजिङ डिरेक्टर सुमित बंशलले नेपाली क्रिकेट टोलीलाई सानो सहयोग गर्न पाउनु गौरवको बिषय भएको बताए ।