काठमाडौं । इंग्ल्यान्डको लर्ड्समा हुने त्रिकोणात्मक टी-ट्वान्टी सिरिज र नेदरल्याण्डसंगको एकदिवसीय क्रिकेट सिरिज खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमकाबीच बुधबार नेपाली टोलीलाई बिदाइ गरिएको हो ।
युरोप भ्रमणमा जाने १५ सदसिय खेलाडीसहितको नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा, क्रिकेट प्लेयर एसोसिएसन अफ नेपालका अध्यक्ष मनिस राज पाण्डे लगायतले बिदाइ गरे । नेपाली टोली बिहिबार लण्डन प्रस्थान गर्नेछन् ।
नेपालले क्रिकेटको मक्का मानिने इंग्ल्यान्डको लर्ड्समा जुलाई अन्तिम साता हुने त्रिकोणात्मक टी-ट्वान्टी सिरिज खेल्दैछ । नेपाल, नेदरल्याण्ड र मेरिलिबोन क्रिकेट क्लब (एमसिसी) बीच लर्ड्समा हुने त्रिकोणात्मक सिरिज जुलाई २९ मा हुनेछ ।
एकदिने त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाल र नेदरल्याण्डबीचको खेललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीले अन्तर्राष्ट्रिय मान्यता दिईसकेको छ । सिरिजमा एमसिसीको कप्तानी श्रीलंकाका पुर्व क्रिकेटर महेला जयबर्धनेले गर्ने छन् । यस्तै स्कटल्याण्डका डायलन बज, एलास्डर ईभान्स र मार्क वाटले पनि एमसिसीबाट खेल्ने बताईएको छ ।
नेपालले सन् २०१५ पछि पहिलोपटक टी-ट्वान्टी खेल खेल्न लागेको हो । नेपालले सन् २०१५ को जुलाईमा टी-ट्वान्टी विश्वकप छनोटमा पपुवा न्युगिनीसँग खेलेपछि टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलेको छैन । गत फेब्रुअरीमा जिम्बावेमा भएको विश्वकप छनोटबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि नेपालले टी-ट्वान्टी खेल्ने मौका पाएको हो ।
त्रिकोणात्मक सिरिजअघि नेपालले ४ अभ्यास खेल खेल्नेछ । नेपालले जुलाई २१ मा ह्ग्ससंग ५० ओभरको खेल खेल्दा २३ जुलाईमा सेन्ट क्रससंग टी-ट्वान्टी खेल्ने छ । यस्तै जुलाई २५ मा इष्ट लन्डन ११ विरुद्ध ५० ओभरको खेल खेल्दा जुलाई २६ मा इष्ट लन्डन शार्कसंग टी-ट्वान्टी खेल खेल्ने छ ।
त्रिकोणात्मक सिरिजपछि नेपाली टोली एकदिवसीय क्रिकेटको डेब्यु खेल खेल्न नेदरल्याण्ड जानेछन् । नेपालले एमस्ट्राडममा घरेलु टोलीसंग अगस्ट पहिलो साता ऐतिहासिक एकदिवसीय क्रिकेट सिरिज खेल्दैछ । नेपाल र नेदरल्याण्डबीचको एकदिवसीय सिरिज अगस्ट १ र ३ मा हुनेछ । यो खेलपछि नेपालका भेट्रान स्पिनर शक्ति गौचनले सन्यास लिनेछन् ।
लन्डन जानुअघि कप्तान पारस खड्काले पहिलो एकदिवसीय क्रिकेट खेल्न उत्साहित रहेको बताए । 'विश्वकप छनोटपछि तीन महिना विश्राम भयो, तीन महिनापछि क्रिकेटमा फर्कदै छौं,' कप्तान पारसले भने, 'सबैको सपना थियो नेपालले एकदिवसीय खेलोस् त्यो पुरा हुँदैछ । हामी उत्साहित छौ । यो हाम्रो साधना थियो । हाम्रो लागि जिम्मेवारी थपिएको छ । हामीलाई चुनौती पनि छ ।'
यस्तै प्रशिक्षक जगत टमटाले आफुहरु राम्रो क्रिकेट खेल्दै जित निकाल्ने लक्ष्यसहित युरोप भ्रमणमा जान लागेको बताए । यस्तै उनले नेपाली क्रिकेटलाई सधै माया गरिरहन अनुरोध गरे ।
युरोप भ्रमणको लागि नेपालले मंगलबार नै पारसको कप्तानीमा ४ वैकल्पिकसहित १५ सदसीय टोलीको घोषणा गरिसकेको छ ।
युरोप जाने टोलीमा कप्तान पारससहित, उपकप्तान ज्ञानेन्द्र मल्ल, अनिल शाह, बसन्त रेग्मी, दिपेन्द्र सिंह ऐरी, करन केसी, ललित भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शक्तिप्रसाद गौचन, शरद भेषवाकर, सोमपाल कामी र सुवास खकुरेल रहेका छन् ।
विकेटकिपर ब्याट्सम्यान सुबासले ३ बर्षपछि नेपाली टोलीमा पुनरागमन गरेका हुन् । नेपाली टोलीको वैकल्पिक खेलाडीको रुपमा विनोद भण्डारी, प्रदीप ऐरी, सुसान भारी र सुनिल धमला रहेका छन् ।