काठमाडौं । क्रिकेटर शक्ति गौचनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । काठमाडौंमा आज आयोजित कार्यक्रमकाबीच भेट्रान स्पिनर गौचनले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका हुन् ।
अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीबाट एक दिवसीय राष्ट्रको मान्यता पाएको नेपालले अगष्ट १ र ३ मा नेदरल्याण्डसंग उसैको मैदानमा पहिलो एकदिवसीय खेल खेल्दै छ । त्यसअघि नेपालले इङ्ल्याण्डकाे लर्डसमा जुलाई २९ मा नेदरल्याण्ड र मेरिलिबोन क्रिकेट क्लब (एमसिसी) संग त्रिकोणात्मक टी-ट्वान्टी सिरिज खेल्ने छ ।
लर्डस र नेदरल्याण्डको भ्रमण गौचनको अन्तिम विदेश यात्रा हुनेछ । सन्यासको घोषणा गर्दै गौचनले नेदरल्याण्डको भ्रमण आफ्नो अन्तिम अन्तराष्ट्रिय भ्रमण हुने स्पष्ट पारे । ‘खुसी पनि र दुखी पनि छु, मैले क्रिकेट लामो यात्रा गरेको छु । तर, यो समय उपयुक्त समय हो । पहिलो एकदिवसीय खेलेर बिदा हुँदै छु ।'
नेपाली क्रिकेट टोलीमा १६ बर्ष बिताएका गौचनले आफुले प्रशिक्षक, कप्तान र सबैसंग सल्लाह गरेर यो निर्णय गरेको बताए । तर, उनले नेपालमा कुनै एक विदाई खेल खेल्ने बताए । उनले भने, 'मलाई यो अवसर दिनु भएकोमा सबैलाई धेरै धेरै धन्यवाद । मेरो यो अन्तिम विदेश भ्रमण हुनेछ । नेपालमा यो खेल भएको भए धेरै खुसी हुने थिए तर म घरेलु भुमिमा अन्तिम खेल खेल्न चाहन्छु ।’
सन् २००२ मा सिंगापुरमा भएको एसीसी ट्रफीमा ओमानविरुद्ध खेल्दै गौचनले राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए ।राष्ट्रिय टोलीमा डेब्यु गर्नुअघि गौचनले यू - १७ टोलीको कप्तानी र यू - १९ टोलीबाट खेलेका थिए ।
गौचन एक हजार रन पुरा गर्ने पहिलो नेपाली खेलाडी हुन् । अन्तराष्ट्रिय क्रिकेटमा ह्याट्रिक गर्ने उनी नेपालका पहिलो खेलाडी हुन् । अन्तराष्ट्रिय खेलमा शतक प्रहार गर्ने उनी नेपालका दोस्रो खेलाडी हुन् ।