काठमाडौं । एसीसी यू-१९ एसिया कप क्रिकेट खेल्न श्रीलंका पुगेको नेपाली यू-१९ क्रिकेट टिम पहिलो अभ्यास खेलमा पराजित भएको छ ।
कोलम्बोमा मंगलबार भएको पहिलो अभ्यास खेलमा नेपाल श्रीलंकाको फस्ट क्लास क्रिकेट क्लब सिङहलेस क्रिकेट क्लब (एसएससी) को यू-२३ टिमसँग ३ विकेटले पराजित भएको हो ।
नेपालले दिएको २ सय ४१ रनको लक्ष्य एसएससीले ४२ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो । नेपालले अन्तिम बलमा क्याच छाडेपछि एसएससीले रोमान्चक जित निकालेको हो ।
एसएससीका क्रिषण संजुलाले ६२ र अभिस्का सेनादिराले ५२ रनको अर्धशतकीय इनिङ्स खेले । त्यस्तै थिभेन्दु सेनारत्नेले ४२ तथा सासिथ मनुरंगले ३८ रन जोडे ।
नेपालका लागि पवन सर्राफले ३ विकेट हात पारे । यस्तै कमल सिंह ऐरी, सुर्य तामाङ र सागर ढकालले समान १/१ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४२ ओभरमा ७ विकेट गुमाएर २ सय ४० रन बनाएको थियो ।
खराब मौषमका कारण ४२ ओभरमा झारिएको खेलमा नेपालका लागि आशिफ शेखले सर्वाधिक ८८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै सन्दीप जोरा ३३, ओपनर रित गौतमले ३१, पवन सर्राफ ३० रनको योगदान गरे ।
त्यस्तै हरि बहादुर चौहानले अविजित १८ तथा भिम सार्कीले १५ रन जोड्दा कप्तान रोहित कुमार पौडेल ८ र लोकेस बम १ रनमा पेभिलियन फर्किए ।
एसएससीका सन्दररुवान चिन्थाका, असेल कालुटुंगा, रासनजना सिल्भा र थिलन प्रसानले २/२ विकेट लिए ।
एसीसी यू-१९ एसिया कप क्रिकेट भदौ १९ देखि २८ गतेबाट हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा भने नेपालले आयोजक श्रीलंकासँग खेल्नेछ । समूह 'बी' मा रहेको नेपालले श्रीलंकासँग भदौ २० गते खेल्नेछ ।
यस्तै दोस्रो खेलमा नेपालले भदौ २२ गते बंगलादेश र अन्तिम खेलमा भदौ २४ गते युएईसँग खेल्नेछ ।
अर्को समूहमा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन् । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
यो पनि :
अन्तिम यू-१९ क्रिकेट खेल्ने पाँच खेलाडी
र
यूवा क्रिकेटरलाई कति महत्वपूर्ण एसिया कप ?