काठमाडौँ । नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिमले पहिलो अभ्यास खेलमा श्रीलंकाको फस्ट क्लास क्रिकेट क्लब सिङहलेस क्रिकेट क्लब (एसएससी) को यू-२३ टिमलाई जितका लागि २४१ रनको लक्ष्य दिएको छ ।
कोलम्बोमा खराब मौषमका कारण ४२ ओभरमा छोट्टाईएको खेलमा नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर २४० रन बनायो ।
नेपालको लागि आशिफ शेखले सर्वाधिक ८८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै सन्दीप जोरा ३३, ओपनर रित गौतमले ३१, पवन सर्राफ ३० रनको योगदान गरे ।
यस्तै हरि बहादुर चौहानले अविजित १८ तथा भिम सार्कीले १५ रन जोड्दा कप्तान रोहित कुमार पौडेल ८ र लोकेस बम १ रनमा पेभिलियन फर्किए ।
एसीसी यू-१९ एसिया कप क्रिकेटका लागि श्रीलंकामा रहेको नेपालले तयारी स्वरुप अभ्यास खेल खेलेको हो । नेपालले प्रतियोगिता अघि ३ अभ्यास खेल खेल्नेछ ।
प्रतियोगिताको पहिलो खेलमा भने नेपालले आयोजक श्रीलंकासँग खेल्नेछ । समूह 'बी' मा रहेको नेपालले श्रीलंकासँग भदौ २० गते खेल्नेछ ।
यस्तै दोस्रो खेलमा नेपालले भदौ २२ गते बंगलादेश र अन्तिम खेलमा भदौ २४ गते युएईसँग खेल्नेछ ।
अर्को समूहमा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन् । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
यो पनि हेर्नुहोस :