काठमाडौं । कीर्तिमानी जमैकन धावक उसेन बोल्ट फुटबल करियर खोज्दै अष्ट्रेलिया पुगेका छन् । ट्रयाक एण्ड फिल्डबाट सन्यास लिएर फुटबलमा करियर बनाउन लागिपरेका बोल्ट ट्रायलका लागि अष्ट्रेलिया पुगेका हुन् ।
बोल्टले अष्ट्रेलियाको ए डिभिजनको क्लब सेन्ट्रल कोष्ट मरिनर्समा ट्रायल दिन सुरु गरेको बिबिसिले जनाएको छ । ३१ बर्षिय बोल्टले सम्भवत उक्त क्लबबाट व्यवसायिक फुटबल खेल्न सक्ने बताईएको छ ।
क्लबका सीईओ शान माइलेकम्पलेले बोल्ट र क्लबबीच पछिल्लो चार महिनाबाट कुरा भईरहेको र एक सिजनको लागि सम्झौता हुने सक्ने बताएका छन् । यस्तै फुटबल एजेन्ट टोनी राल्लिसले क्लब र बोल्ट लगभग सम्झौता नजिक पुगेका बताएका छन् ।
गत बर्ष ट्रयाक एण्ड फिल्डबाट सन्यास लिएका बोल्टले पछिल्लो समय जर्मन क्लब बोरुसिया डर्टमण्डबाट प्रशिक्षण लिएका थिए । यस्तै उनले नर्वे र दक्षिण अफ्रीकाका क्लबमा समेत ट्रायल र अभ्यास गरेका थिए । बोल्टले यसअघि आफ्नो मनपर्ने इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडबाट समेत फुटबल खेल्न खोजेका थिए ।
गत बर्षको अगस्टमा विश्व च्याम्पियनसिप खेलेपछि बोल्टले ट्रयाक एण्ड फिल्डबाट सन्या लिएका थिए । ह्यामस्ट्रिंङ्ग भएपछि लण्डनमा सम्पन्न च्याम्पियनसिपमा बोल्ट आफ्नो फेबरेट दौड १०० मिटरमा स्वर्ण जित्न असफल भएका थिए । उनले कास्य पदक मात्र जितेका थिए ।
शताब्दीकै उत्कृष्ट धावक मानिने बोल्टले आफ्नो खेल करियरमध्ये ओलम्पिक खेलकुदमा मात्र ८ पटक स्वर्ण पदक जितेका छन् । बोल्ट ट्रयाक एण्ड फिल्डमा हालसम्मकै सफल धावक समेत हुन् । त्यस्तै उनको नाममा १०० मिटरमा विश्व किर्तिमान रहेको छ ।