एजेन्सी । पाकिस्तानमा आयोजना हुने फस्ट क्लास क्रिकेटको प्रतियोगितामा टसको नियम हटाइने भएको छ ।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले आउने सिजनको प्रतियोगिताबाट टसको नियम हटाउने जनाएको छ ।
पीसीबीको निर्णयसँगै सन् २०१९/२० को सिजनको काइद ए आजम ट्रफीमा टस नहुने भएको छ । काइद एआजम ट्रफी यहि सेप्टेम्बर १२ देखि सुरु हुँदैछ ।
उक्त प्रतियोगितामा टस नहुने तर पाहुना टोलीले सुरुमा बलिङ रोज्न पाउने छ । यदि बलिङ नरोजेको खण्डमा भने टस हुनेछ ।
प्रतिस्पर्धात्मक क्रिकेटका लागि पीसीबीले यस्तो नियम लागु गर्न लागेको बताएको छ ।
'घरेलु टोलीले अब टसको फाइदा लिन पाउने छैन । प्राय घरेलु टोलीले फास्ट बलरका लागि सुहाउने पिच बनाउने गर्छन् । र, सुरुमा बलिङ रोज्ने गर्छन्,' पीसीबीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'अब यो नियमले घरेलु टोलीलाई सहज हुने छैन । यदी पाहुना टोलीले सुरुमा बलिङ नरोजे मात्र टस हुनेछ । यो नियम घरेलु टिमलाई थप फाइदा हुनबाट रोक्ने छ र खेल प्रतिस्पर्धात्मक हुनेछ ।'
यस नियमले आगामी सिजनको प्रतियोगितामा पिचमा सबैले ध्यान दिने विश्वास गरिएको छ ।
'प्रतिस्पर्धात्मक खेलका लागि अब सबै टिमले राम्रो पिच बनाउने छन् । क्युरेटरले समेत आफ्नो क्षमता प्रदर्शन गर्न पाउनेछन्,' विज्ञप्तिमा भनिएको छ ।
यस नियम लागु गर्नका लागि पीसीबीका सीइओ वसिम खानले बोर्डमा प्रस्ताव गरिसकेका छन् । पीसीबीको बोर्डमा सबैले सहमति जनाईसकेको समेत बताईएको छ ।