एजेन्सी । भारतविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज घरेलु टोली इङ्ल्याण्डले २ – १ ले जितेको छ । मंगलबार राति भएको अन्तिम तथा तेस्रो एकदिवसीयमा भारतलाई ८ विकेटले हराउदै इंग्ल्यान्डले सिरिज जितेको हो ।
लिड्समा भारतले दिएको २५७ रनको लक्ष्य इंग्ल्यान्डले ४४ ओभर ३ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । इंग्ल्यान्डको जितमा जोय रुटले शतकीय पारी खेले । रुटले अविजित १०० रन बनाए । रुटको यो लगातार दोस्रो शतक हो । यस्तै कप्तान इयान मोर्गन ८८ रनमा अविजित रहदा जोनी बैरटोवले ३० तथा जेम्स भिन्सले २७ रन बनाए । भारतका सार्दुल ठाकुरले एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले पुरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर २५६ रन बनाएको थियो । कप्तान विराट कोहलीले ७१ रन बनाउनु बाहेक अन्यको प्रर्दशन गतिलो रहेन । यस्तै शिखर धवनले ४४, महेन्द्र सिंह धोनीले ४२ रन जोड्दा सार्दुल ठाकुर २२ रनमा अविजित रहे । इंग्ल्यान्डका डेभिड विलि र आदील रशिदले समान ३ – ३ विकेट लिए ।
सिरिज अन्तर्गत पहिलो खेलमा भारतले इंग्ल्यान्डलाई ८ विकेटले हराएको थियो । तर, दोस्रो खेलमा इंग्ल्यान्डले भारत ८६ रनले हराएको थियो ।