जेन्सी । आइसल्याण्डका प्रशिक्षक हेइमिर हलग्रिम्सनले प्रशिक्षक पदबाट राजिनामा दिएका छन् । सात बर्ष आइसल्याण्डको टिम सम्हालेका हलग्रिम्सनले मंगलबार राजिनामा दिएका हुन् ।
फुटबल एसोसिएसन आइसल्याण्डले मंगलबार सामाजिक संजाल ट्वीटरबाट प्रशिक्षक हलग्रिम्सनले पद छाडेको बताएको छ । 'प्रशिक्षक हलग्रिम्सनले आइसल्याण्डको पुरुष टोलीको मुख्य प्रशिक्षक नरहने आइसल्याण्ड फुटबल एसोसिएसन पुष्टि गर्दछ,' ट्वीटमा लेखिएको छ, 'हलग्रिम्सनले आफ्नै अनुरोधमा ७ बर्षपछि पद छाडेका छन् ।'
रुसमा सम्पन्न विश्वकपमा समूह चरण पार गर्न नसकेपछि प्रशिक्षक हलग्रिम्सनले राजिनामा गरेको बताईएको छ । तर, आइसल्याण्डले रुस विश्वकपमा लियोनल मेस्सीको अर्जेन्टिनासंग बराबरी खेल्दै तहल्का मच्चाएको थियो । प्रशिक्षक हलग्रिम्सनकै नेतृत्वमा आइसल्याण्डले फ्रान्स युरोकपमा सनसनी मच्चाएको थियो ।
५१ बर्षीय प्रशिक्षक हलग्रिम्सनले सन् २०११ बाट आइसल्याण्ड टोली सम्हालेका थिए । आइसल्याण्डका पुर्व खेलाडी समेत रहेका हलग्रिम्सनले सन् २००७ सम्म क्लब फुटबल खेलेका थिए ।