एजेन्सी । वेष्ट इण्डिजविरुद्धको पहिलो टेष्टमा भारतले फराकिलो जित निकालेको छ ।
सोमबार बिहान सकिएको पहिलो टेष्टमा भारतले वेष्ट इण्डिजलाई ३१८ रनको फराकिलो अन्तरले हराएको छ । विदेशी भूमिमा भारतको यो अहिलेसम्मकै सर्वाधिक ठुलो रनको कीर्तिमानी जित हो ।
एन्टीगुआमा भारतले दिएको ४१९ रनको फराकिलो लक्ष्य पछ्याएको वेष्ट इण्डिजले दोस्रो इनिङ्समा मात्र १०० रन जोड्यो ।
भारतीय बलर हाबी हुँदा वेष्ट इण्डिज दोस्रो इनिङ्समा २६ ओभर ५ बलमा अलआउट भएको थियो । वेष्ट इण्डिजका लागि केमार रोचले सर्वाधिक ३८ रन जोड्दा मिगुएल कुमिन्सले अविजित १९ रन जोडे । त्यस्तै रोस्टनले १२ रन बनाए ।
वेष्ट इण्डिजलाई सास्तीमा समेट्न भारतका जस्प्रित बुम्राहले मात्र ७ रन खर्चेर ५ विकेट लिए । त्यस्तै इशान्त शर्माले ३ तथा मोहमद शामीले २ विकेट लिए ।
पहिलो इनिङ्समा वेष्ट इण्डिजले २२२ रन जोडेको थियो ।
भारतले पहिलो इनिङ्समा २९७ रन जोडेको थियो । यस्तै दोस्रो इनिङ्समा ३४३ रन जोड्दै भारतले इनिङ्स समाप्तिको घोषणा गरेको थियो ।
भारतका लागि दोस्रो इनिङ्समा अजिंका रहानेले १०३ रनको शतकीय इनिङ्स खेले । हनुमा बिहारीले ९३ रन बनाए । वेष्ट इण्डिजका रोस्टनले ४ विकेट लिए ।
पहिलो टेष्टमा जित निकालेसँगै भारतले दुई खेलको सिरिजमा १-० ले अग्रता बनाएको छ । दुई टोलीबीचको दोस्रो टेष्ट शुक्रबार सुरु हुनेछ ।