एजेन्सी । अष्ट्रेलियाविरुद्धको एसेज सिरिज अन्तर्गत तेस्रो टेष्ट क्रिकेटमा इंग्ल्याण्डलाई रोमान्चक जित दिलाउन सफल भएपछि अलराउण्डर बेन स्टोक्सले यस क्षण आफ्नो क्रिकेट करियरकै उत्कृष्ट क्षणमध्ये एक रहेको बताएका छन् ।
लिड्समा आइतबार इंग्ल्याण्डले अष्ट्रेलियामाथि १ विकेटको रोमान्चक जित निकालेको थियो । उक्त जितमा नायक बनेका थिए स्टोक्स । स्टोक्सले अविजित १३५ रनको शतकीय इनिङ्स खेलेपछि इंग्ल्याण्डले जित निकालेको थियो ।
'एसेज सिरिज जित्ने आशालाई कायम राख्नु बिशेष अनभूति रह्यो । यस्ता पलहरु प्राय आउँदैनन्,' स्टोक्सले भने, 'यो पल म कहिल्यै बिर्सन सक्दिन । मलाई थाहा छैन कि फेरि एस्तो कहिले हुनेछ ।'
अन्तिम खेलाडीको रुपमा ज्याक लिच क्रिजमा आउँदा इंग्ल्याण्डलाई ७३ रनको आवश्यकता रहेको थियो । जसमा स्टोक्सले लिचसँग ७६ रनको साझेदारी गरेका थिए । लिच १ रनमा अविजित रहे ।
यस्तै स्टोक्सले यस क्षण घरेलु मैदानमा सम्पन्न एकदिवसीय विश्वकप पछिकै उत्कृष्ट क्षण रहेको बताए । ६ हप्ता अघि घरेलु मैदानमा सम्पन्न विश्वकपमा पनि स्टोक्स नायक बनेका थिए ।
'इमान्दार भएर भन्नु पर्दा यो विश्वकपसँग मेल खान्छ । यो अविश्वसनीय रह्यो,' स्टोक्सले भने ।
रोमान्चक बनेको विश्वकपको फाइनलमा इंग्ल्याण्डले न्युजिल्याण्डलाई सर्वाधिक बाउन्ड्रीको आधारमा हराएको थियो । फाइनल खेल बराबरी भएपछि खेल सुपर ओभरमा गएको थियो तर सुपर ओभर समेत बराबरी भएपछि खेलको निर्णय सर्वाधिक बाउन्ड्रीबाट गरिएको थियो ।