काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ रहेको टोली टिसी स्पोर्टस क्लबले माल्दिभ्समा जारी धिवेही प्रिमियर लिगमा लगातार चौथों जित निकालेको छ ।
किरणले उत्कृष्ट प्रदर्शन गरेपछि टिसीले मंगलबार मजिया स्पोर्ट्स क्लबलाई ३ – ० ले हराएको हो । टिसीलाई जित दिलाउन इब्राहिम महुदेहीले दुई गोल गरे । यस्तै इब्राहिम वाहिदले एक गोल थपे । टिसीले पहिलो हाफमा २ गोल गरेका थिए भने थप एक गोल दोस्रो हाफमा गरेको थियो ।
माल्दिभ्सको उच्च श्रेणीको लिग धिवेही प्रिमियर लिगको दोस्रो सिजन खेलिरहेका किरणले मजियाविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए । मजियाको आधा दर्जन उत्कृष्ट किरणले बचाएका थिए । उनले खेलको दोस्रो मिनेटमै वान भर्सेस वानको स्थितिमा मजियाको आक्रमण विफल बनाईदिएका थिए ।
यो जितसंगै टिसी लिगको शीर्ष स्थानमा उक्लिएको छ । टिसीले ४ खेलबाट १२ अंक जोडेको छ । ४ अंक जोडेको इगल्स पाँचौ स्थानमा छ ।