एजेन्सी । एसेज सिरिज अन्तर्गतको तेस्रो टेष्ट क्रिकेट इंग्ल्याण्डले जितेको छ । रोमान्चक बनेको तेस्रो टेष्टमा इंग्ल्याण्डले अष्ट्रेलियालाई १ विकेटले पराजित गर्यो ।
लिड्समा अष्ट्रेलियाले दिएको ३५९ रनको लक्ष्य इंग्ल्याण्डले १२५ ओभर ४ बलमा ९ विकेट गुमाएर पुरा गर्यो । ३ विकेटको क्षतिमा १ सय ५६ रनबाट चौंथो दिनको खेल थालेको इंग्ल्याण्डका लागि बेन स्टोक्सले शतकीय इनिङ्स खेले ।
अविजित रहेका स्टोक्सले दोस्रो इनिङ्समा १३५ रन बनाए ।
यस्तै जोय रुटले ७७ रन जोड्दा जोय डेन्लीले ५० रनको अर्धशतकीय इनिङ्स खेले । अष्ट्रेलियाका जोश हाजलवुडले ४ विकेट लिए । नाथन लायनले २ विकेट लिए ।
यसअघि पहिलो इनिङ्समा इंग्ल्याण्ड ६७ रनमा अलआउट भएको थियो ।
पहिलो इनिङ्समा १७९ रन बनाएको अष्ट्रेलियाले दोस्रो इनिङ्समा २४६ रन जोडेको थियो ।
जितसँगै इंग्ल्याण्डले पाँच खेलको एसेज सिरिजमा १-१ को बराबरी गरेको छ । यसअघि पहिलो टेष्ट अष्ट्रेलियाले जितेको थियो । दुईबीचको दोस्रो टेष्ट 'ड्र' भएको थियो ।