एजेन्सी । भारतीय क्रिकेटर अम्बाती रायडुले सन्यास फिर्ता लिने योजना बनाएका छन् ।
इंग्ल्याण्डमा सम्पन्न आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको टिममा नपरेपछि सन्यास लिएका रायडुले पुन: अन्तराष्ट्रिय क्रिकेटमा फर्कने योजना बनाएका छन् ।
चेन्नईमा एकदिवसीय घरेलु लिग खेलिरहेका मध्यक्रमका ब्याट्सम्यान रायडुले आफु अन्तराष्ट्रिय क्रिकेटमा फर्कने योजना बनाईरहेको बताएका छन् ।
'पक्कै पनि म चेन्नईबाट आईपीएल खेल्ने छु । र, सेतो बलको क्रिकेटमा फर्कने योजना बनाएको छु,' रायडुले भने, 'अहिले मेरो मुख्य ध्यान फिटनेस राम्रो बनाउनु रहेको छ ।'
३३ बर्षे रायडुले भारतबाट ५५ एकदिवसीय खेल खेलका छन् । उनले ४७ दशमलब ०५ को औसतमा १ हजार ६ सय ९४ एक रन बनाएका छन् । उनले ६ अन्तराष्ट्रिय टी-ट्वान्टीमा खेल खेलेका छन् ।
इंग्ल्याण्ड विश्वकपका लागि भारतीय टिमको घोषणा हुँदा रायडु 'हट केक' बनेका थिए । यस सिजनको आईपीएलमा उत्कृष्ट प्रदर्शन गर्दा रायडु विश्वकप टिममा पर्ने अनुमान गरिएको थियो । तर, थुप्रैको अनुमान गलत साबित भएको थियो ।
विश्वकपका लागि वैकल्पिक खेलाडीका रुपमा राखिएपनि भारतका २ खेलाडी चोटका कारण घर फर्कदासमेत उनले मौका पाएका थिएनन् ।