काठमाडौँ । एसीसी यू–१९ एसिया कप क्रिकेटका लागि नेपाली राष्ट्रिय यू–१९ क्रिकेट टोली श्रीलंका लागेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरेर खेलाडी तथा अफिसियलको बिदाई गरिएको छ ।
कार्यक्रममा शुभकामना दिदै पुर्व राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमटाले यू–१९ टिममा पर्नु भनेको राष्ट्रिय टिममा स्थान बनाउने मुख्य आधार भएको बताए ।
प्रशिक्षक टमटाले बिराट कोहली, युवराज सिंह जस्ता विश्वका हस्तीलाई उदाहरण दिदै सो कुरा बताएका हुन् ।
‘तिमीहरु भोलीको राष्ट्रिय टिम हो ।’ टमटाले भने, ‘कोहली, युवराज जस्ता खेलाडीलाई हेर, सबै यू–१९ बाट आएका खेलाडी हुन् ।’
उनले यू–१९ टिममा प्रतिस्पर्धा गर्न नसक्ने खेलाडी राष्ट्रिय टिममा पर्न कठिन हुने बताए । एसिया कपमा टेष्ट राष्ट्र समेत हुने भएकाले खेलाडीले आफुलाई प्रमाणित गर्ने राम्रो मौका रहेको उल्लेख गरे ।
‘चान्समा डान्स गर्नु पर्छ । यस्तो मौका फेरी आउँदैन ।’ टमटाले थपे, ’कतिपय खेलाडीको यो नै अन्तिम यू–१९ प्रतियोगिता हो ।’
उनले नेपालले प्रतियोगितामा राम्रो नतिजा ल्याउने विश्वास ब्यक्त गरे ।
‘अघिल्लो संस्करणमा हामीले भारतलाई समेत हराएका छौं । फेरी हराउन सकिदैन भन्ने हुँदैन ।’ टमाटाले बताए ।
कप्तान रोहित कुमार पौडेलले पनि खेलाडीले आफ्नो सय प्रतिशत खेल्न सके टेष्ट राष्ट्रले नेपाललाई हराउन हम्मे हम्मे पर्ने बताए ।
‘सबै खेलाडीले आफ्नो क्षमताको प्रदर्शन गरे हामीले राम्रो टक्कर दिन सक्छौं ।’ पौडेलले भने, ‘टिममा उत्कृष्ट खेलाडी रहेका छन् । प्रतियोगिता राम्रो हुनेछ ।’
मुख्य प्रशिक्षक विनोद दासले नेपालको लक्ष्य सेमिफाइनल रहेको बताए । ’श्रीलंकामा केही अभ्यास खेल खेल्छौं । त्यसले अवस्था बुझ्न सजिलो हुन्छ ।’ दासले भने, ‘मेरो लक्ष्य भनेको सेमिफाइनल हो ।’
‘नेपाललाई सेमिफाइनल पुग्न असम्भब भने छैन । पछिल्लो समय नेपालले आफ्नो समुहमा रहेको श्रीलंका र बंगलादेशलाई राम्रो चुनौती दिएको थियो ।’ उनले भने, ‘हामी एसिया कपमा श्रीलंकासंग १ रनले पराजित भएका हौ भने बंगलादेश भ्रमणमा उसैलाई एक पटक हराएका थियौ ।’
प्रतियोगिताको पहिलो खेलमा नेपालले आयोजक श्रीलंकासँग खेल्नेछ । समूह ‘बी’ मा रहेको नेपालले श्रीलंकासँग भदौ २० गते खेल्नेछ ।
यस्तै दोस्रो खेलमा नेपालले भदौ २२ गते बंगलादेश र अन्तिम खेलमा भदौ २४ गते युएईसँग खेल्नेछ । समुहका २ शिर्ष टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।