काठमाडौं । क्रिकेटको मक्का मानिने इंग्ल्यान्डको लर्ड्समा जुलाई अन्तिम साता हुने त्रिकोणात्मक टी-ट्वान्टी सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपालले मंगलबार पारस खड्काको कप्तानीमा ४ वैकल्पिकसहित १५ सदसीय टोलीको घोषणा गरेको हो ।
नेपाल, नेदरल्याण्ड र मेरिलिबोन क्रिकेट क्लब (एमसिसी) बीच लर्ड्समा हुने त्रिकोणात्मक सिरिज जुलाई २९ मा हुनेछ । एकदिने त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाल र नेदरल्याण्डबीचको खेललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीले अन्तर्राष्ट्रिय मान्यता दिईसकेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिसद आइसीसीका प्रतिनिधि अमिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्काले नेपाली टोलीको छनोट गरेको हो । नेपालले क्लोज क्याम्पमा रहेका २० खेलाडीबाट अन्तिम छनोट गरेको हो ।
नेपाली टोलीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, अनिल शाह, बसन्त रेग्मी, दिपेन्द्र सिंह ऐरी, करन केसी, ललित भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शक्तिप्रसाद गौचन, शरद भेषवाकर, सोमपाल कामी र सुवास खकुरेल रहेका छन् ।
नेपाली टोलीमा खकुरेलले पुनरागमन गरेका हुन् ।
वैकल्पिक खेलाडीको रुपमा विनोद भण्डारी, प्रदीप ऐरी, सुसान भारी र सुनिल धमला रहेका छन् । नेपाली टोली बिहिबार लन्डन प्रस्थान गर्ने छन् ।
सिरिजमा एमसिसीको कप्तानी श्रीलंकाका पुर्व क्रिकेटर महेला जयबर्धनेले गर्ने छन् । यस्तै स्कटल्याण्डका डायलन बज, एलास्डर ईभान्स र मार्क वाटले पनि एमसिसीबाट खेल्ने बताईएको छ ।
यो त्रिकोणात्मक सिरिजका लागि लर्ड्सले टिकट बेच्न सुरु गरिसकेको छ । यो खेलको लागि वयस्कहरुको लागि १७ पाउण्ड टिकट मूल्य राखिएको छ । यस्तै बालबालिकाको लागि ५ पाउण्डको टिकट राखिएको छ । टिकट लर्ड्सको वेबसाइडबाट किन्न सकिनेछ ।
नेपालले सन् २०१५ पछि पहिलोपटक टी-ट्वान्टी खेल खेल्न लागेको हो । नेपालले सन् २०१५ को जुलाईमा टी-ट्वान्टी विश्वकप छनोटमा पपुवा न्युगिनीसँग खेलेपछि टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलेको छैन । गत फेब्रुअरीमा जिम्बावेमा भएको विश्वकप छनोटबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि नेपालले टी-ट्वान्टी खेल्ने मौका पाएको हो ।
नेपालले एकदिवसीय क्रिकेटको डेब्यु खेल भने नेदरल्याण्डसंग खेल्दैछ । नेपालले अगस्ट १ र ३ मा घरेलु टोलीविरुद्ध एमस्ट्राडममा दुई एकदिवसीय खेल खेल्नेछ ।