काठमाडौं । क्रिकेटको मक्का मानिने इंग्ल्यान्डको लर्ड्समा नेपालले जुलाई अन्तिम साता त्रिकोणात्मक टी-ट्वान्टी सिरिज खेल्दैछ ।
नेपाल, नेदरल्याण्ड र मेरिलिबोन क्रिकेट क्लब (एमसिसी) बीच लर्ड्समा हुने त्रिकोणात्मक सिरिज जुलाई २९ मा हुनेछ । एकदिने त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाल र नेदरल्याण्डबीचको खेललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीले अन्तर्राष्ट्रिय मान्यता दिईसकेको छ ।
सिरिजमा एमसिसीको कप्तानी श्रीलंकाका पुर्व क्रिकेटर महेला जयबर्धनेले गर्ने छन् । यस्तै स्कटल्याण्डका डायलन बज, एलास्डर ईभान्स र मार्क वाटले पनि एमसिसीबाट खेल्ने बताईएको छ ।
यो त्रिकोणात्मक सिरिजका लागि लर्ड्सले टिकट बेच्न सुरु गरिसकेको छ । यो खेलको लागि वयस्कहरुको लागि १७ पाउण्ड टिकट मूल्य राखिएको छ । यस्तै बालबालिकाको लागि ५ पाउण्डको टिकट राखिएको छ । टिकट लर्ड्सको वेबसाइडबाट किन्न सकिनेछ ।
सिरिजको लागि नेपालले पारस खड्काको कप्तानीमा १५ सदसीय टोलीको घोषणा गरिसकेको छ । नेपालले अहिले तयारी गरिरहेको छ । नेपालले सन् २०१५ पछि पहिलोपटक टी-ट्वान्टी खेल खेल्न लागेको हो ।
नेपालले सन् २०१५ को जुलाईमा टी-ट्वान्टी विश्वकप छनोटमा पपुवा न्युगिनीसँग खेलेपछि टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलेको छैन । गत फेब्रुअरीमा जिम्बावेमा भएको विश्वकप छनोटबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि नेपालले टी-ट्वान्टी खेल्ने मौका पाएको हो ।
नेपालले एकदिवसीय क्रिकेटको डेब्यु खेल भने नेदरल्याण्डसंग खेल्दैछ । नेपालले अगस्ट १ र ३ मा घरेलु टोलीविरुद्ध एमस्ट्राडममा दुई एकदिवसीय खेल खेल्नेछ ।