एजेन्सी । पाकिस्तानी पूर्व क्रिकेटर रमिज राजाले पाकिस्तानले भारतबाट थुप्रै कुरा सिक्नु पर्ने बताएका छन् ।
५७ वर्षे राजाले पाकिस्तान क्रिकेट बोर्डले भारतीय क्रिकेट बोर्ड तथा खेलाडीबाट धेरै कुरा सिक्नु पर्ने र सुधार गर्नु पर्ने आवश्यकता रहेको बताए ।
'खेलकुद मनसिकता परिवर्तन भएको छ । हरेक टिम एक सय एक बलियो भएका छन् ,' राजाले भने,'विराट कोहली र उनका सहकर्मीलाई हेर्नुहोस् । उनीहरुले आक्रोशलाई त्याग गर्दै खेलमा निडर भाव भित्र्याएका छन् ।'
पाकिस्तानका दाँया हाते पूर्व ब्याट्सम्यान राजाले पाकिस्तानी खेलाडीले आधुनिक क्रिकेट खेल्नु पर्ने समय आएको बताए ।
'पाकिस्तानले समेत खेलमा भारतीय खेलाडीको जस्तो मनस्थिति अपनाउनु पर्छ । खेलाडीले आधुनिक क्रिकेट खेल्छु भनेर सोच्नु पर्छ,' राजाले थपे, 'विश्वकप र एसिया कपमा पाकिस्तानको प्रदर्शन यसको तथ्य हो । विपक्षी टिमले रमाइलो र आकर्षक क्रिकेट खेल्दै गर्दा हाम्रो क्रिकेट भने सन् १९७० ताकाको देखिने गर्छ ।'
यस्तै राजाले अन्तराष्ट्रिय प्रतियोगितामा पाकिस्तानले अन्य टोलीलाई कम आक्ने भएका कारण समेत खराब नतिजा आउने गरेको बताए ।
राजाले पाकिस्तानका लागि ५७ टेष्ट, १ सय ९८ एकदिवसीय अन्तराष्ट्रिय खेल खेलेका छन् । जसमा २ हजार ८ सय ३३ रन टेष्टमा र ५ हजार ८ सय ४१ रन एकदिवसीयमा बनाउन सफल भएका थिए ।
क्रिकेट करियरबाट सन्यास लिएपछि अहिले राजा क्रिकेट कमेन्टेटरको रुपमा काम गर्दै आएका छन् ।