एजेन्सी । इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडका स्ट्राइकर एलेक्सिस सान्चेजले अमेरिका भ्रमण गुमाउने भएका छन् । सिजन सुरु अघिको प्रि सिजन तयारीको लागि युनाइटेडले यसै साता अमेरिकाको भ्रमण गर्दैछ ।
सान्चेजले भिसा समस्याको कारण प्रि सिजनको भ्रमण गुमाउने भएका हुन् । स्पेनमा रहदा कर छलीको आरोप लागेको र १६ महिनाको जेल सजाय रहेको कारण अमेरिकाले सान्चेजलाई भिसा नदिएपछि उनले भ्रमण गुमाउने भएको बीबीसीले जनाएको छ ।
अमेरिकाको कानुन अनुसार विवादास्पद व्यक्तिहरुलाई भिसा नदिने चलन रहेको छ । चिलीका २९ बर्षे फरवार्ड सान्चेजलाई गत फेब्रुअरीमा उक्त आरोप लागेको थियो । उनले बार्सिलोनामा हुँदा कर छली गरेको बताईएको छ ।
युनाइटेडले आउने शुक्रबार मेक्सिकन क्लब अमेरिकासंग मैत्रीपूर्ण खेल खेल्दैछ । यस्तै युनाइटेडले अमेरिकामा अन्तर्राष्ट्रिय च्याम्पियन्स कप खेल्नेछ । जसमा मेजर लिग सकर क्लब सान जोसे अर्थक्वेक, इटालियन क्लब एसी मिलान, इन्ग्लिश क्लब लिभरपुल र स्पेनिस क्लब रियल मड्रिड रहेका छन् ।