एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले श्रीलंकाका क्रिकेट कप्तान दिनेश चण्डीमाल, प्रशिक्षक चण्डिका हाथुरुसिंघे र व्यवस्थापक असन्का गुरुसिंघालाई प्रतिबन्ध लगाएको छ ।
गत महिना वेष्ट इण्डिजविरुद्धको खेलमा बल टेम्परिङ गरेको पुष्टि भएपछि आइसीसीले कप्तान चण्डीमालसहित हाथुरुसिंघे र गुरुसिंघालाई प्रतिबन्ध लगाएको हो । आइसीसीले तीनै जनालाई चार खेलको एकदिवसीय र दुई खेलको टेष्ट क्रिकेटमा प्रतिबन्ध लगाएको हो । उक्त टेष्ट ड्र भएको थियो ।
आइसीसीको माइकल बोलेफ नेतृत्वमा रहेको स्वतन्त्र न्यायिक छानबिन समितिले कप्तान चण्डीमालसहित तीन जनाले खेल भावना विपरीत कार्य गरेको निष्कर्ष निकालेपछि उनीहरु प्रतिबन्धमा परेका हुन् ।
आइसीसीले उनीहरुले आचार संहिताको धारा २ उपधारा ३ एक उल्लंघन गरेका जनाएको छ । उक्त आचार संहिता उल्लघन गरेमा २ टेस्ट, ४ एकदिवसीय तथा २ टी-ट्वान्टीको प्रतिबन्ध हुने गर्दछ ।