एजेन्सी । इटालियन क्लब युभेन्ट्सले पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोलाई क्लबको खेलाडीको रुपमा सार्वजनिक गरेको छ । इटालियन च्याम्पियन युभेन्ट्सले सोमबार राति पत्रकार सम्मेलनबाट युभेन्ट्सको खेलाडीको रुपमा सार्वजनिक गरेको हो ।
युभेन्टसले रोनाल्डोलाई यसै साता १०५ मिलियन पाउण्डमा स्पेनिस क्लब रियल मड्रिडबाट क्लबमा भित्राएको थियो । पोर्चुगलका कप्तान रोनाल्डो र युभेन्ट्सको अनुबन्ध सम्झौताबारे भने खुलाईएको छैन् । तर, युभेन्ट्सले रोनाल्डोलाई हरेक सिजन ३० मिलियन पाउण्ड दिनेगरी चार बर्षको लागि अनुबन्ध गरिने बताईएको छ ।
क्लबसंग औपचारिक सम्झौता नभएपनि रोनाल्डोले युभेन्ट्समा आफ्नो ट्रेडमार्क जर्सी ७ नम्बरको जर्सी लगाउने छन् । पत्रकार सम्मेलनमा रोनाल्डोले लगाउने ७ नम्बरको जर्सी सार्वजनिक गरिएको थियो ।
पत्रकार सम्मेलनमा रोनाल्डोले नयाँ चुनौतीको सामना गर्न इटालियन क्लब युभेन्ट्स आएको बताएका छन् । उनले भने, 'युभेन्ट्स विश्वको उत्कृष्ट एक क्लब हो, यहाँ आउनु मैले धेरै सोचे तर मेरो लागि इटालीको उत्कृष्ट क्लबमा आउनु सहज निर्णय थियो । यो मेरो करियरको महत्वपूर्ण कदम हो । म एकदमै खुसी छु । मलाई गर्व छ ।
सन् २००९ मा इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडबाट कीर्तिमानी मूल्यमा क्लब आएका रोनाल्डोले रियलसंगको अनुबन्ध सम्झौता ३ बर्ष बाँकी छदै युभेन्ट्स गएका हुन् । ९ बर्ष रियलमा बिताएका रोनाल्डोले गत सिजन सन् २०२१ सम्मको लागि सम्झौता गरेका थिए ।
३३ वर्षीय रोनाल्डो रियल मड्रिडका सर्वाधिक गोलकर्ता हुन् । रियलका लागि रोनाल्डोले ४३८ खेलमा रोनाल्डोले ४५० गोल गरेका छन् । पाँच पटकको बालोन डी'ओर बिजेता रोनाल्डोले रियललाई चार पटक च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका छन् । रोनाल्डोले सन् २००८,१३, १४ र १६ मा बालोन डी'ओर जितेका थिए ।
रोनाल्डोले रियलबाट च्याम्पियन्स लिगको एकै सिजन १७ गोल गरेर नयाँ किर्तिमान बनाएका थिए । सन् २०१३-१४ को सिजन उक्त किर्तिमान बनाएका उनले च्याम्पियन्स लिगमा कुल १०५ गोल गर्न सफल भए । रोनाल्डोले ला लिगामा मात्र ३११ गोल गरे । रियलबाट कुल ४४ ह्याट्रिक गरेका रोनाल्डोले ला लिगामा मात्र ३४ ह्याट्रिक गर्दै नयाँ किर्तिमान कायम गरेका थिए ।
रोनाल्डोले रियलमा रहदा १६ मुख्य उपाधि हात पारे । जसमा ४ च्याम्पियन्स लिग, २ ला लिगा, ३ क्लब विश्वकप र ३ युरोपियन सुपर कप,दुई स्पेनिस सुपर कप र २ कोपा डेल रे रहेको छ ।
रोनाल्डोले रियलमै रहदा करियरको ६५९ औं गोल गर्न सफल भए । रोनाल्डोले रियलका लागि ४५०,म्यानचेस्टर युनाइटेडका लागि ११८, पोर्चुगलका लागि ८५ र स्पोर्टिङ लिस्बोनको लागि ५ गोल गर्दै करियरको ६५० गोल पुरा गरेका हुन् ।