एजेन्सी । पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोले नयाँ चुनौतीको सामना गर्न इटालियन क्लब युभेन्ट्स आएको बताएका छन् । युभेन्ट्ससंग सम्झौता गर्न टुरिन आइपुगेका रोनाल्डोले पत्रकार सम्मेलनमा आफु करियरको अर्को चुनौतीको सामना गर्न इटाली आएको बताएका हुन् ।
युभेन्ट्सले सोमबार राति पोर्चुगिज कप्तान रोनाल्डोलाई पहिलोपटक पत्रकार सम्मेलनबाट सार्वजनिक गरेको थियो । रोनाल्डोले पत्रकार सम्मेलनमा भने, 'युभेन्ट्स विश्वको उत्कृष्ट एक क्लब हो, यहाँ आउनु मैले धेरै सोचे तर मेरो लागि इटालीको उत्कृष्ट क्लबमा आउनु सहज निर्णय थियो । यो मेरो करियरको महत्वपूर्ण कदम हो । म एकदमै खुसी छु । मलाई गर्व छ ।'
युभेन्टसले रोनाल्डोलाई यसै साता १०५ मिलियन पाउण्डमा स्पेनिस क्लब रियल मड्रिडबाट क्लबमा भित्राएको हो । सन् २००९ मा इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडबाट कीर्तिमानी मूल्यमा क्लब आएका रोनाल्डोले रियलसंगको अनुबन्ध सम्झौता ३ बर्ष बाँकी छदै युभेन्ट्स गएका हुन् । ९ बर्ष रियलमा बिताएका रोनाल्डोले गत सिजन सन् २०२१ सम्मको लागि सम्झौता गरेका थिए ।
तर,रोनाल्डोले रियल छाड्नु पर्दा आफुलाई दुख नलागेको समेत बताए । 'म दुखी छैन किनकी मैले ९ बर्षमा रियल मड्रिडमा उत्कृष्ट इतिहास बनाए । तर, मलाई सहज हुने क्षेत्रमा बस्न म लागेन । मलाई अझै चुनौतीको सामना गर्न मन लाग्छ । म मेरो करियरको अर्को चुनौतीको समाना गर्न यहाँ आएको छु,' रोनाल्डोले भने ।
यस्तै रोनाल्डोले आफुलाई युभेन्ट्सले ठुलो अवसर दिएको बताउदै क्लबको लागि उपाधि दिलाउन तयार रहेको बताए । क्लबलाई उपाधि दिलाउन आफु सबै पक्षमा तयार रहेको बताउदै रोनाल्डोले थपे, 'मलाई युभेन्ट्सले अवसर दिएको छ । म क्लबप्रति आभारी छौ । म जित्न चाहन्छु , म यहाँ उत्कृष्ट हुन चाहन्छु । कसलाई के थाहा, सायद मैले पुन बालोन डी' ओर जित्ने छु । तर, मेरो लागि म्यानचेस्टर युनाइटेड र रियलमा जस्तो सहज छैन । हेरौं के हुन्छ ।'
३० बर्षीय रोनाल्डोले क्लबबाट सिजनको पहिलो खेलमै मैदान उत्रन चाहेको समेत बताए । रोनाल्डोले आफु छुट्टि मनाउन र रिटायर्ड खेल जीवन बिताउन इटाली नआएको समेत स्पष्ट पारेको थिए । उनले रिटायर्ड खेल जीवन बिताउन चाहनेहरु कतार र चिनियाँ लिगमा जाने बताउदै आफ्नो त्यस्तो चाहना भएको भए आफु पनि त्यतै जाने स्पष्ट बनाए ।
३३ वर्षीय रोनाल्डो रियल मड्रिडका सर्वाधिक गोलकर्ता हुन् । रियलका लागि रोनाल्डोले ४३८ खेलमा रोनाल्डोले ४५० गोल गरेका छन् । पाँच पटकको बालोन डी'ओर बिजेता रोनाल्डोले रियललाई चार पटक च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका छन् । रोनाल्डोले सन् २००८,१३, १४ र १६ मा बालोन डी'ओर जितेका थिए ।