एजेन्सी । खेल जीवन सकिएपछि खेलाडीहरु के गर्छन् ? सामान्यतया प्रशिक्षक वा खेल विश्लेषक बन्छन् ।
तर, क्रिकेटका केहि यस्ता खेलाडी छन् जो खेल जीवनपछि पनि खेलाडी नै बनेका छन् । धेरैलाई अचम्म लाग्न सक्छ । तर, यो सत्य हो ।
विश्व क्रिकेट खेलमा तीन जना यस्ता खेलाडी छन् । उनीहरु क्रिकेट करियर सकिएपछि अर्को खेल बडिबिल्डिङका खेलाडी बनेका थिए ।
उनीहरु को को हुन त ? उनीहरुबारे तल चर्चा गरेका छौं ।
१. डेभिड लरेन्स
डेभिड लरेन्सले सन् १९९८ देखि १९९२ सम्म इंग्ल्याण्डका लागि ५ टेष्ट र १ एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट खेलेका थिए । जमैकन मुलका लरेन्सले फस्ट क्लास क्रिकेटमा ५ सय विकेटको कीर्तिमान नै बनाएका छन् ।
दाँया हातले तीव्र गतिमा बलिङ गर्ने उनको खुबी थियो । तर, २९ वर्षको उमेरमा, न्युजिल्याण्डविरुद्दको खेलमा बाँया हातमा चोट लागेपछि उनि मैदानमा ढल्न पुगे । विलिङटनको मैदानबाट स्ट्रेचरमा बोकेर उनलाई अस्पताल पुर्याइएको थियो । त्यस घटनापछि लरेन्स कहिल्यै क्रिकेटमा फर्कन सकेनन् ।
क्रिकेटमा पुनरागमन गर्न नसके पनि लरेन्स अर्को खेल बडिबिल्डिङबाट खेलकुदमा फर्किए । डाइटमा निकै ध्यान दिने लरेन्सले बडिबिल्डिङमा जम्न निकै मेहेनत गरे । कडा मेहनतपछि इंग्ल्याण्डको राष्ट्रिय अमेचर बडिबिल्डिङ एसोसियसनले गर्ने प्रतियोगितामा लगातार ३ वर्ष च्याम्पियन बने ।
२. मार्टिन फोर्ड
इंग्ल्याण्डका मार्टिन फोर्ड एमेच्योर क्रिकेटर हुन् । फोर्डले युवा उमेरमै इंग्ल्याण्डको घरेलु क्रिकेट लिग खेलिसकेका थिए ।
फोर्डको सपना थियो विश्व स्तरिय क्रिकेटर बन्ने । तर, एक दिन अभ्यासका क्रममा फोर्ड घाइते भए । जसको कारण उनले १२ महिनाको लामो समयको विश्राम लिनु परेको थियो । जसको कारण उनले क्रिकेट करियर अन्त्य गर्ने निर्णय गरे ।
चोटका कारण क्रिकेट छाडेपछि फोर्ड फिटनेस र बडिबिल्डिङको संसारमा प्रवेश गरे । आफुले रुचाएको खेल खेल्न नसक्ने भएपछी उनले फिटनेस र बडिबिल्डिङलाई अंगालेका थिए । उनलाई विश्वको ठुलो ज्यान भएको मान्छेको रुपमा समेत हेरिने गरिन्छ ।
३७ वर्षे फोर्ड अहिले फिटनेस र बडिबिल्डिङमा तल्लिन छन् । हाल उनले २ सय ३० केजीको भारोत्तोलन समेत गर्ने गरेका छन् ।
फोर्डले हाल दैनिक रुपमा ३ सय ४० ग्राम प्रोटिन लिने गरेका छन् । विशाल माशपेशीको कारण उनले थुप्रै हलिउड सिनेमा र सिरिजमा खेल्ने अवसर पाएका थिए ।
३. क्रिस ट्रिमलेट
इंग्ल्याण्डका खतरनाक फास्ट बलर ट्रिमलेटले १२ टेष्ट र १५ एकदिवसीय अन्तराष्ट्रिय खेल खेलेका थिए । उनी सन् २०१०/११ एसेस सिरिजका सेन्टरपिस थिए, जहाँ उनले ३ टेष्टमा १७ विकेट हात पारेका थिए ।
६ फिट ७ इन्च उचाई भएका खेलाडीले बलिङमा अतिरिक्त बाउन्सर प्राप्त गर्थे । १५ वर्षे क्रिकेट करियरमा उनले ४ सय ५९ विकेट हात पारेका थिए ।
३७ वर्षको उमेरमा क्रिकेटबाट सन्यास लिएपछि भने ट्रिमलेट बडिबिल्डिङ र भारोत्तोलन खेलमा लागेका थिए ।
सानो सर्लक्क परेको ज्यानबाट ट्रिमलेटले आफ्नो ज्यान डरलाग्दो बनाउन सफल भए । पछिल्लो समय उनि क्रिकेट भन्दा बडिबिल्डिङ र भारोत्तोलनमा बढी देखिने गर्छन् ।