काठमाडौं । नेपालमा आयोजना हुने १३ औं संस्करणको दक्षिण एसियाली खेलकुद (साग) को तयारीका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टिम वैदेशिक भ्रमणमा निस्कने भएका छन् ।
साग महिला क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमटाले साग अघि अभ्यास खेल खेल्ने नेपाली टोलीले टेष्ट राष्ट्रको भ्रमण गर्ने तयारी गरिरहेको जानकारी गराए ।
स्वर्ण पदक जित्ने लक्ष्य लिएको नेपाली टोलीले भारत, पाकिस्तान र बंगलादेश मध्ये एक राष्ट्रको भ्रमण गर्ने प्रशिक्षक टमटाले बताए ।
'साग अघि टेष्ट राष्ट्रको भ्रमण गर्ने तालिका बनिरहेको छ । सबै तयारी पूर्ण भएपछी हामीले कम्तिमा १५ दिनको भ्रमण गर्ने छौं,' टमटाले भने, 'करिब ५ खेल खेल्ने गरि हामी त्यसतर्फ जाने छौं र त्यसको तयारी गरेका छौं ।'
यद्दपी नेपालले कुन राष्ट्र र कस्तो टिमसँग खेल्ने भन्नेबारे भने तय भएको छैन । नेपालमा पूर्ण तयारी सकिएपछि मात्र साग टिम अभ्यास खेल खेल्न त्यसतर्फ जाने छन् ।
प्रशिक्षक टमटाले टेष्ट राष्ट्रको भ्रमणका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिब रमेश सिलवाल समेत सकारात्मक रहेको बताए ।
'क्रिकेट सम्बन्धित व्यक्ति भएकाले प्रस्ताब गर्ने बित्तिकै हुन्छ भन्नु भएको छ,' टमटाले थपे, 'उहाँको पहलमा नै महिला टोलीले पहिलो पटक ३ महिना अघि अभ्यास सुरु गर्न पाएको हो ।'
सागका लागि नेपाली महिला टोलीले गत बुधबारबाट कीर्तिपुरस्थित टियु मैदानमा तयारी सुरु गरिसकेको छ । पहिलो चरणमा ३५ खेलाडीलाई प्रशिक्षणमा बोलाईएको छ । नेपालले ३५ बाट दोस्रो चरणमा २५ र अन्तिममा १६ खेलाडीको छनोट गर्नेछ ।
सागमा पहिलो पटक महिला क्रिकेट समावेस गरिएको हो । यस्तै नेपाली महिला टोलीले घरेलु मैदानमा पहिलो पटक अन्तराष्ट्रिय क्रिकेट खेल्ने छन् ।
त्यसैले नेपाली टोली स्वर्ण जित्ने लक्ष्यसहित तयारीमा जुटिरहेका छन् ।
'१२ वर्षे क्रिकेट करियरमा पहिलो पटक घरेलु भूमिका खेल्न पाउनु भाग्यको कुरा हो,' कप्तान रुबिना क्षेत्रिले भनिन्, 'घरेलु दर्शक सामु पहिलो पटक खेल्न पाउँदा सबै खेलाडी उत्साहित छन् । समर्थकलाई खुसि बनाउन हामीले स्वर्ण जित्ने लक्ष्य सहित तयारी गरिरहेका छौं ।'